लाभांश घोषणा गरेका बैंकको सेयरमा लगानीकर्ताको आकर्षण, सबैभन्दा बढी सिटिजन्सको बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा बैंकिङ समूहको सूचकमा चकम नै छाएको छ ।

यो दिन बैंकिङ समूहको उपसूचक ५५.१५ अंकले बढेको छ ।

पछिल्लो समय बैंकहरुले घोषणा गरेको लाभांशको कारण पनि बैंकमा लगानीकर्ताको ध्यान तानिएको छ ।

हालसम्म माछापुच्छे« बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक र ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका बैंक मध्ये सबैभन्दा बढी सेयर मूल्य एनआईसी एसिया बैंकको रहेको छ । बैंकको सेयर मूल्य बुधबारसम्म ६१७ रुपैयाँ रहेको छ । यो दिन नै सेयर मूल्य १२ रुपैयाँले बढेको छ ।

यो बैंकले लगानीकर्तालाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद सहित २० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

यस्तै माछापुच्छे« बैंकले लगानीकर्तालाई ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद सहित १०.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बुधबारको कारोबारमा माछापुच्छ्रेको प्रति सेयर ८ रुपैयाँले बढेर २३७ रुपैयाँ पुगेको छ ।

यस्तै बैंक अफ काठमाण्डूले लगानीकर्तालाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधबार बैंकको सेयर मूल्य प्रति कित्ता ९ रुपैयाँको दरले २८८ रुपैयाँ पुगेको छ ।

यस्तै लाभांश घोषणा गरेको सानिमा बैंकको सेयर मूल्य प्रति कित्ता १६ रुपैयाँले बढेको छ । बैंकले १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगदसहित १३.६ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।

बुधबारको कारोबारमा सबैभन्दा बढी सिटिजन्स बैंकको सेयर मूल्य प्रति कित्ता २१ रुपैयाँले बढेर २४१ रुपैयाँ पुगेको छ ।

बैंकले लगानीकर्तालाई ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगदसहित ११ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

यस्तै १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश सहित १४ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको कुमारी बैंकको सेयर मूल्य ९ रुपैयाँले बढेर २४६ रुपैयाँ पुगेको छ । यता ग्लोबल आईएमई बैंकको सेयर मूल्य १३ रुपैयाँले बढेर ३०१ रुपैयाँ पुगेको छ । बैंकले लगानीकर्तालाई १४ प्रतिशत बोनस २ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु