अन्तःशुल्क स्टिकर: एकवर्षपछि पुरानै प्रक्रियाबाट टेण्डर आह्वान



काठमाडौं । एकवर्षदेखि अनिर्णय बनेको अन्तःशुल्क स्टिकर छपाईको प्रक्रिया पुनः एकवर्ष अगाडि फर्केको छ ।

एकवर्ष अगाडि अन्तःशुल्कको स्टिकर बोलपत्र आह्वान गरेको थियो । तर,संसदीय समितिदेखि लिएर अदालतसम्ममा नेपाली कम्पनीलाई स्टिकर छपाई गर्न नपाएको भन्दै यो प्रक्रिया रोकिएको थियो ।

टेण्डर पाएको विदेशी कम्पनीले समेत स्टिकर छाप्ने काम नगरेपछि जनकशिक्षाले केही थान स्टिकर छापेको थियो ।

विभागले बुधबार ४५ दिनको समय राखेर अन्तःशुल्कको स्टिकर छपाईको लागि बोलपत्र आह्वान गरेको छ ।

विभागले ७ अर्ब ८५ करोड थान अन्तःशुल्क स्टिकर छपाईको लागि बोलपत्र आह्वान गरेको हो ।

एकवर्षदेखि स्वदेशी कम्पनीलाई स्टिकर छपाईको लागि ठूलो विवाद भएपनि आन्तरिक राजस्व विभागले स्वदेशी कम्पनीहरु स्टिकर छपाईका लागि योग्य नभएको निष्कर्ष निकालेको थियो । नेपालमा उठ्ने कुल करमा अन्तःशुल्कको योगदान करिब १७ प्रतिशत छ ।

विभागले एकवर्षदेखि नयाँ स्टिकर छाप्न नसेकेको कारण ठूलो मौज्जात भने रहेको छैन । विभागले गरेको ग्लोबल टेण्डर प्रक्रियामा भाग लिनको लागि ४ लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने छ ।

एकवर्षदेखि स्वदेशी कम्पनीलाई स्टीकर छपाईको काम दिन लफडा भएपनि यो पटकको टेण्डरमा राखिएको सत्र हेर्दा स्वदेशी कम्पनीले भने टेण्डर पाउने सम्भावना रहेको छैन । राजस्वका अधिकारीहरु अन्तःशुल्कको स्टिकर बढी संवेदनशिल भएको भन्दै यसको लागि स्वदेशी कम्पनीलाई दिने पक्षमा थिएनन् ।

जबकी विभागलाई असजिलो पर्दा सरकारी कम्पनी जनक शिक्षा सामग्री केन्द्रले नै स्टिकर छापेर दिएको थियो । जनक शिक्षाले नै छाप्न सक्ने कुरा प्रमाणित भने गरिसकेको छ ।


क्लिकमान्डु