कोरोना बीमामा स्रोतभन्दा बढी दायित्व, १३ कम्पनीको संकलित प्रिमियमभन्दा दाबी रकम बढी, कस्को कति ?



काठमाडौं । गत बैसाख ७ गतेबाट शुरु भएका कोरोना बीमामा कम्पनीहरुमा स्रोतभन्दा दायित्व बढी भइसकेको छ ।  बीमा समितिले निर्जीवन बीमा कम्पनीहरु मार्फत् जारी गरेको बीमामा प्रिमियम संकलन रकमभन्दा बढी दाबी भुक्तानी कम्पनीहरुमा परिसकेको छ ।

समितिद्वारा उपलब्ध तथ्यांकअनुसार असोज २३ गतेसम्म बीमा कम्पनी १५ लाख १४ हजार बढीको कारोना बीमा गरी ८७ करोड बढी प्रिमियम संकलन गरेका छन् । जसमा ८ हजार ४ सय ६९ जना बीमितले ८० करोड ९८ लाख रुपैयाँ बढीको दावी गरिसकेका छन् ।

कम्पनीहरुले कोरोना बीमा लेख बिक्री गरेको रकमको ९३.०८ प्रतिशत बराबर दाबी परिसकेको छ । कोरोना बीमा लेख बिक्री गरिरहेका २० वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये १३ वटा कम्पनीमा प्रिमियम संकलनभन्दा बढी रकमको दावी परिसकेको छ ।

बाँकी ७ वटा कम्पनीहरुमा समेत प्रिमियम संकलनको ५६.७४ प्रतिशतदेखि ९८.९३ प्रतिशतसम्म दावी परिसकेको समितिद्वारा उपलब्ध तथ्यांकले देखाएको छ ।

प्रिमियम संकलनभन्दा बढी रकम बराबरको दावी दायित्व भएका कम्पनीहरुमा नेको, युनाइडेड, प्रभु जनरल, आइएमई जनरल, हिमालय, ओरिन्टीयल, सानिमा जनरल, लुम्बिनी, एनएलजी, पुडेन्सियल, एभरेष्ट, नेशनल र नेपाल इन्स्योरेन्स रहेका छन् ।

स्रोतभन्दा दायित्व कुन कम्पनीमा कतिले बढी

नेको इन्स्योरेन्सः असोज २३ गतेसम्म नेको इन्स्योरेन्सले कोरोना बीमा लेख बिक्री गरी ४ करोड २४ लाख ९० हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । सो अवधिमा कम्पनीमा ७ करोड ५० हजार रुपैयाँ बराबरको दावी परेको छ । जुन प्रिमियम संकलनभन्दा २ करोड ७५ लाख ५९ हजार रुपैयाँ बढी हो । हालसम्म कम्पनीले बीमितलाई १ करोड ६ लाख रुपैयाँ मात्र दावी भुक्तान गरेको छ ।

युनाइटेड इन्स्योरेन्स: युनाइटेड इन्स्योरेन्सले कोरोना बीमा लेख बिक्री गरी १ करोड ८४ लाख ५३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । असोज २३ गतेसम्म कम्पनीमा ४ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको दावी परिसकेको छ । जुन प्रिमिय संकलनभन्दा २ करोड १७ लाख ९६ हजार रुपैयाँ बढी हो । कम्पनीले सो अवधिमा ४३ लाख रुपैयाँ मात्र दावी भुक्तान गरेको छ ।

प्रभु इन्स्योरेन्स: कम्पनीले १ करोड ७४ लाख ४४ हजार रुपैयाँ बराबर कोरोना बीमा लेख बिक्री गरी प्रिमियम संकलन गरेको छ । तर कम्पनीमा दावी भने ३ करोड १६ लाख रुपैयाँ बराबरको परेको छ । जुन कम्पनीले सो अवधिमा संकलन गरेको प्रिमियमभन्दा १ करोड ३६ लाख ५५ हजार रुपैयाँ बढी हो । हालसम्म कम्पनीले २० लाख ५० हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्स:  कोरोना बीमा लेख बिक्री गरी आइएमई जनरल इन्स्योरेन्सले ३ करोड ६४ लाख ३२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । तर कम्पनीमा हालसम्म ५ करोड रुपैयाँ बराबरको दावी परिसको छ । जुन प्रिमियम संकलनभन्दा १ करोड ३५ लाख ६७ हजार रुपैयाँ बढी हो । जसमा कम्पनीले ६३ लाख रुपैयाँमात्र दावी भुक्तानी गरेको छ ।

हिमालयन इस्योरेन्स: असोज २३ गतेसम्म हिमालयन इन्स्योरेन्सले ३ करोड ७६ लाख ९८ हजार रुपैयाँ कोरोना बीमा लेख बिक्री गरी प्रिमियम संकलन गरेको छ । तर कम्पनीमा हालसम्म ४ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको दावी परिसकेको छ । जुन प्रिमियम संकलनभन्दा १ करोड १ लाख ५१ हजार रुपैयाँ बढी हो । हालसम्म कम्पनीले ७४ लाख रुपैयाँ मात्र दावी भुक्तान गरेको छ ।

ओरिन्टयल इन्स्योरेन्सः असोज २३ गतेसम्म कम्पनीले कोरोना बीमा लेख बिक्री गरी १ करोड ७ लाख ७७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । तर सो अवधिमा दावी भने कम्पनीमा १ करोड ८३ लाख ५० हजार रुपैयाँको परिसकेको छ । जुन प्रिमियमभन्दा ७५ लाख ७२ हजार रुपैयाँ बढी हो । कम्पनीले दावी भुक्तानी भने २४ लाख ५० हजार रुपैयाँ बराबरको मात्र गरेको छ ।

सानिमा जनरल इन्स्योरेन्सः कम्पनीले असोज २३ गतेसम्म १ करोड १ लाख ३२ हजार रुपैयाँ कोरोना बीमा लेख बिक्री गरी प्रिमियम संकलन गरेको छ । तर सो अवधिमा दावी भने १ करोड ५५ लाख ५० हजार रुपैयाँ बढीको परेको छ । जुन प्रिमियम संकलनभन्दा ५४ लाख १७ हजार रुपैयाँ बढी हो । कम्पनीले हालसम्म ७ लाख ५० हजार रुपैयाँमात्र दावी भुक्तानी गरेको छ ।

लुम्बिनी इन्स्योरेन्सः कम्पनीले सो अवधिमा २ करोड ६५ लाख ६ हजार रुपैयाँ कोरोना बीमा लेख बिक्री गरी प्रिमियम संकलन गरेको छ । तर कम्पनीमा दावी भने ३ करोड १७ लाख रुपैयाँ बराबरको परेको छ । जुन प्रिमियम संकलनभन्दा ५१ लाख ९३ हजार रुपैयाँ बढी हो । कम्पनीले हालसम्म ५२ लाख ५० हजार रुपैयाँमात्र दावी भुक्तान गरेको छ ।

एनएलजी इन्स्योरेन्सः असोज २३ गतेसम्म कम्पनीले कोरोना बीमा लेख बिक्री गरी २ करोड ९२ लाख ९१ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । तर कम्पनीमा दावी भने ३ करोड ३६ लाख रुपैयाँको परेको छ । जुन प्रिमियम संकलनभन्दा ४३ लाख ८ हजार रुपैयाँ बढी हो । कम्पनीले हालसम्म १५ लाख रुपैयाँमात्रै दावी भुक्तानी गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सः कम्पनीले सो अवधिमा १ करोड ९ लाख ७१ हजार रुपैयाँ कोरोना बीमा लेख बिक्री गरी प्रिमियम संकलन गरेको छ । तर कम्पनीमा दावी भने १ करोड ५० लाख रुपैयाँ बराबरको परेको छ । जुन प्रिमियम संकलनभन्दा ४० लाख ८ हजार रुपैयाँ बढी हो । कम्पनीले हालसम्म ४१ लाख रुपैयाँमात्र दावी भुक्तान गरेको छ ।

एभरेष्ट इन्स्योरेन्सः कम्पनीले असोज २३ गतेसम्म २ करोड ४३ लाख २२ हजार रुपैयाँ कोरोना बीमा लेख बिक्री गरी प्रिमियम संकलन गरेको छ । तर सो अवधिमा दावी भने २ करोड ७५ लाख रुपैयाँ बढीको परेको छ । जुन प्रिमियम संकलनभन्दा ३१ लाख ७७ हजार रुपैयाँ बढी हो । कम्पनीले हालसम्म २९ लाख ५० हजार रुपैयाँमात्र दावी भुक्तानी गरेको छ ।

नेपाल इन्स्योरेन्सः कम्पनीले सो अवधिमा १ करोड ९९ लाख २४ हजार रुपैयाँ कोरोना बीमा लेख बिक्री गरी प्रिमियम संकलन गरेको छ । तर कम्पनीमा दावी भने २ करोड ७५ लाख रुपैयाँ बराबरको परेको छ । जुन प्रिमियम संकलनभन्दा ३१ लाख ७७ हजार रुपैयाँ बढी हो । कम्पनीले हालसम्म ४९ लाख ५० हजार रुपैयाँमात्र दावी भुक्तान गरेको छ ।

नेशनल इस्योरेन्सः कम्पनीले असोज २३ गतेसम्म ९२ लाख ४५ हजार रुपैयाँ कोरोना बीमा लेख बिक्री गरी प्रिमियम संकलन गरेको छ । तर सो अवधिमा दावी भने ९४ लाख रुपैयाँ बढीको परेको छ । जुन प्रिमियम संकलनभन्दा १ लाख ५४ हजार रुपैयाँ बढी हो । कम्पनीले हालसम्म १० लाख रुपैयाँमात्र दावी भुक्तानी गरेको छ ।

यसरी हुन्छ कोरोना बीमाको दावी भुक्तानी

विश्वसामु उदाहरणिय बन्ने उदेश्य सहित बीमा समितले जारी गरेको कोरोना बीमाको पुनरबीमा सम्झौता भने अहिलेसम्म भएको छैन् । कुनै पनि बीमा लेख जारी गर्नु पुर्व त्यसको पुनरबीमा सम्झौता भएको प्रमाण भएपछि मात्र समितिले स्वीकृत दिन्छ ।

तर समितिले नै पहल गरी नेपाल बिमक संघसँगको सम्वन्यमा जारी भएको कोरोना बीमाको भने बीमा पूलमार्फत दावी भुक्तानी गर्ने सम्झौता सहित बीमा लेख जारी गरिएको हो ।

जसमा २० प्रतिशत पुनरबीमा कम्पनीले र ८० प्रतिशत २० वटा बीमा कम्पनीहरुले ४/४ प्रतिशत गरेर दाबी भुक्तानी गर्नुपर्ने थियो । तर कोरोना संक्रमितको संख्या बढेसँगै यसको दायित्वको मोडालिटी पनि परिवर्तन गरियो ।

हाल कोरोना बीमाको दायित्व सरकार, बीमा समिति, नेपाल पुनरबीमा कम्पनी र बीमा कम्पनीहरुले बहन गर्ने सम्झौता भएको छ ।

अर्थमन्त्रालय, बीमा समिति र बीमक संघबीच भएका सम्झौताअनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी पूलअन्तर्गत दाबी भुक्तानी गर्नेछन् ।

त्यसपछि १ अर्ब रुपैयाँ पुनरबीमा कम्पनीले, त्यसपछिको ५० करोड रुपैयाँको दाबी बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती कोषबाट बहन गर्नेछन् ।

यसैगरी २ अर्ब ५ करोड रुपैयाँमाथिको १ अर्ब रुपैयाँ बीमा समितिले दायित्व लिनेछ भने सो भन्दामाथि परेको दाबीको दायित्व सरकारले बहन गर्नेछ ।

दायित्व बहनको आधारमा सरकारले घोषणा गरेको कोरोना बीमा कार्यक्रमको कार्यविधि बनाइएको बीमा समितिले जानकारी दिएको छ ।

यस अनुसार हालसम्म कम्पनीहरुमा परेको दावी कम्पनीहरुले नै भुक्तानी गर्नु पर्छ ।


पुष्प दुलाल