२ अर्ब रुपैयाँ राजस्व छल्ने ३ व्यवसायी विरुद्द राजस्व अनुसन्धानले दायर गर्यो मुद्दा



काठमाडौं । करिब २ अर्ब रुपैयाँ राजश्व छली गरेको आरोपमा ३ व्यवसायी विरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

हाइटेक इन्टरनेशनल, साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्न विरुद्ध गैर कानुनी रुपमा राजश्व छली तथा चुहवाट र कारोबार गरेको भन्र्दै सो रकम बराबरको विगो र कारवाहीको माग गरी उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजस्व अनुसन्धान विभागका अनुसार हाइटेक इन्टरनेशनलले भन्सार चारी पैठारी गरिएको मालवस्तुको गैरकानुनी रुपमा भुक्तानी गरी मुद्रा अपचलन गरेको आरोपमा कम्पनीका संचालक हरि कुमार श्रेष्ठलाई १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १ सय ११ विगो असुल उपर गरी विगोको तीन गुणासम्म जरिवाना र ३ वर्ष कैद सजाय समेत माग गरी मुद्दा दायर भएको छ । श्रेष्ठले भन्सार बिन्दुबाट मालवस्तु पैठारी गर्दा लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याएका थिए ।

उनले मालवस्तुको यथार्थ कारोवार नदेखाई यथार्थ र वास्तविक कारोवारको छुट्टै लेजरमा अभिलेख राखी राजस्व चुहावट समेत गरेको आरोप छ । त्यस्ता चोरी पैठारी गरी ल्याएको मालवस्तुको भुक्तानीको लागि बैंकको स्वीकृती समेत नलिई गैरकानूनी रुपमा अवैध किसिमले विदेशमा रकम पठाई विदेशी विनिमय अपचलन गरेको अरोपमा उनलाई उक्त वीगो रकम र जेल सजाय माग गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको विभागले जनाएको छ ।

यस्तै, भुट्टा तथा नक्कली मु.अ. कर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्न विरुद्ध वीगो असुल उपरको लागि उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

जसमा मनिष ट्रेडिङ्स कन्सर्नले निम्न आर्थिक आय भएका व्यक्तिको नाममा फर्म दर्ता गरी वस्तु तथा सामान आयात तथा सेवा एउटा र आयात तथा खरिद देखाइ अर्कै माल वस्तुको झुटो तथा नक्कली मु.अ. कर विजक मात्र विक्री गरेको आरोप छ ।

जसकारण वापत कम्पनीले राजश्व चुहावटको कसुरमा १३ करोड २५ लाख ८८ हजार २ सय ६३ रुपैयाँ जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर भएको विभागले जनाएको छ ।

साथै, बारा जिल्ला रामपुर टोकनी ३ स्थित साहारा एण्ड खातुन ट्रेडसले वस्तु तथा सेवा खरिद नै नगरी झुटा र नक्कली मु.अ. कर विजक विक्री गरेको आरोपमा मुद्दा दायर भएको छ ।

जसकारण कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको कसुरमा ९ करोड ९६ लाख ५४ हजार ७ सय ६१ रुपैयाँ जरिवाना र कदै सजायको माग गरी उच्च अदातल पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।


क्लिकमान्डु