उडान संख्या थपेपछि बसकै हाराहारीमा आयो हवाई जहाजको भाडा



काठमाडौं । हवाई तथा लामो दुरीका यातायातको भाडादर समान जस्तै भएको छ ।

कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण गर्न लामो समय पछि खुल्ला गरिएका हवाई र लामो दुरीका यातायातको टिकट शुल्क पछिल्लो समय सरदरमा पुगेको हो ।

सरकारले असोज १ गतेदेखि खुल्ला गरेको लामो दुरीका सवारी साधनमा ५० प्रतिशतमात्र यात्रु राखेर सञ्चालन गर्न पाउने निर्देशन दिएको छ ।

साथै स्वास्थ्य मापदण्ड पालनता गर्दा सिटमा कम यात्रु भएकाले ५० प्रतिशतसम्म भाडादर बढाउन पाउने अनुमति समेत सरकारले दिएको छ ।

सोही कारणले गर्दा अहिले लामो दुरीका सवारीको भाडा महंगो भएको छ भने कोरोनाको संक्रमणका कारण यात्रु घट्दा हवाई सेवा कम्पनीहरू सस्तोदरमा टिकट बिक्री गरिरहेका छन् ।

हवाइ सेवा कम्पनीहरुले सस्तोदरमा टिकट बिक्री गर्दा सोही स्थानमा पुग्ने यातायतको टिकटको सदरदरमा हवाइ भाडादर पुगेको देखिन्छ ।

अहिले दशैं मनाउन राजधानी छोडेर आफ्नो गृह जिल्ला फर्किनेहरुको बसमा घण्टौ लगाएर यात्रा गर्नुभन्दा हवाई जहाजको यात्रा गर्नु नै सस्तो र सहज देखिन्छ ।

साथै उपत्यका बाहिरबाट बिराटनगर, भैरहवा, पोखरा, वीरगञ्ज, काठमाडौं आउने सार्वजनिक यातायतको भाडादर न्यूनतम १ हजार रुपैयाँदेखि २५ सय रुपैयाँसम्म छ ।

उक्त रुटमा चल्ने सार्वजनिक सवारीहरु साधारण सुविधा भएकादेखि अत्याधुनिक सुविधाका सवारीहरु छन् ।

यता, आन्तरिक हवाई उडानका वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गरिरहेका छन् । सरकारले हवाइ उडान खुल्ला गरेपनि भाडादर र सिटमा कति यात्रु राख्न पाउने भनेर उल्लेख हालसम्म नगरेपछि कम्पनीहरुले सबै सिटमा यात्रु राखेर सस्तो भाडादरमा नै उडान भरिरहेका हुन् ।

बिराटनरबाट काठमाडौं आउन यति एयरलाइन्सले १९ सय रुपैयाँमा टिकट बिक्री गरिरहेको छ । साथै, बुद्ध एयरलाइन्स, श्री एयरलाइन्स, यति एयरलाइन्सले २२ रुपैयाँसम्म टिकट बिक्री गरिरहेको छ । तर बिराटनरबाट काठमाडौ सुविधा, सजिलो र काब्या डिलक्समा आउनु पर्दा भने १९ सय रुपैयाँ टिकटको पैसा बुझाउनु पर्छ ।

यसैगरी, पोखराबाट काठमाडौं बसमा आउने यात्रुले १ हजार रुपैयाँदेखि २ हजार रुपैयाँसम्मको टिकट खरिद गरेर आउनु पर्ने हुन्छ । तर हवाई जहाज चडेर आउनु पर्दा भने बुध्द एयरलाइन्स र यति एयरलाइन्सले २२ सय रुपैयाँसम्म टिकट बिक्री गरिरहेको छन् ।

साथै, काठमाडौंबाट पोखरा हवाई जहाजबाट जानु यी एयरलाइन्सहरुले २४ सय रुपैयाँसँम पनि टिकट बिक्री गरिरहेका छन् । जबकी यो रुटमा चल्ने सार्वजनिक सवारीको टिकटदर ९ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म तोकिएको छ ।


क्लिकमान्डु