सरकारलाई पार्टी प्यालेस व्यवसायीको प्रश्नः होटेल र रेस्टुरेन्ट चलाउन दिने पार्टी प्यालेस किन नदिने ?



काठमाडौं । पार्टी प्यालेस व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग माग गरेका छन् ।

देशभर रहेका ७ हजार पार्टी प्यालेस व्यवसाय बन्द हुँदा ५० हजारभन्दा बढीको रोजगारी गुमेको र लाखौंको संख्यामा जनजीवन प्रभावित भएको भन्दै व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग माग गरेका हुन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसीले राज्यले तत्काल निर्वाध रुपमा पार्टीप्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरे ।

उनले होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न दिने तर पार्टी प्यालेस व्यवसाय सञ्चालन गर्न नदिने कुरा नमिल्दो भएको बताए । भौतिक दुरी कायम गर्दै सरकारले तोकेको मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न माग गर्दा समेत व्यवसाय बन्द गरिनुको कारण सरकारले स्पस्ट पार्नुपर्ने उनको भनाइ छ ।

जिसीले पार्टी प्यालेस खोल्दा संक्रमण फैलिन्छ भन्ने भ्रममा सरकार रहेको बताए । ठूला होटल तथा रेष्टुरेन्टका पार्टीहलहरु सञ्चालन हुँदा कोरोना नसर्ने तर पार्टी प्यालेसका हल सञ्चालन गर्दा कोरोना सर्ने कुरा आफुहरुले नमान्ने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले करिब ७ महिना यता पार्टी प्यालेस बन्द हुँदा व्यवसायबाट नै पलायन हुने स्थितिमा आफुहरु पुगेको बताए ।

अहिले देशभर २ सय भन्दा बढी व्यवसायीहरु पलायन भइसकेको बताउँदै अझबढी क्षति हुने देखिएको बताए । ५० हजारभन्दा बढीको रोजगारी गुम्ने मात्र नभएर सरकारले वार्षिक २ अर्ब भन्दा बढी राजश्व समेत गुमाएको उनको भनाइ छ ।

त्यस्तै पछिल्लो समय आफुहरुसँग कर्मचारीका लागि तलब खुवाउनसमेत पूँजीको अभाव भएको उनको गुनासो छ । त्यसबाहेक पार्टी प्यालेस व्यवसाय सञ्चालन नहुँदा कृषि उत्पादनको खपत घटेको र बजारमा महंगी बढेको उनले दाबी गरे ।

प्रवक्ता पाण्डेका अनुसार कुल कृषि उत्पादनको २५ प्रतिशत पार्टी प्यालेस व्यवसायमा खपत हुँदै आएको छ । यसबाट अप्रत्यक्ष रुपमा लाखौंको रोजगारी प्रभावित भएको उनले बताए । बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरु सबैभन्दा बढी समस्यामा परेको पनि उनले बताए ।

अन्य उद्योग व्यवसाय सरह यो व्यवसायलाई लिन पनि प्रवक्ता पाण्डेले सरकारसँग आग्रह गरे । संकटको बेला पार्टी प्यालेस व्यवसायीहरुले सरकारबाट कुनैपनि राहत पाउन नसकेको गुनासो उनको छ ।

व्यवसायीहरुले आफुहरु कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले तोकेको मापदण्ड सहित उच्च सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न सक्षम रहेको पनि बताएका छन् । सरकारले आर्थिक कारोबारलाई चलायमान गराउन र व्यवसायबाट पलायन हुने स्थिति आउन नदिन पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुले बताएका हुन् ।


पुष्प दुलाल