हप्तामा २ दिन विदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा २ दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो । मन्त्रालयले प्रशासन तथा योजना महाशाखा प्रमुख सहसचिव कमल भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

त्यसैगरी पर्यटन मन्त्रालयका सह-सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण समेत गरिएको छ । जसमा अर्थमन्त्रालय, गृहमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने भएको हो ।

त्यस्तै बैठकले पशुपति मन्दिर लुिम्बनी, संग्राहालय खोल्न सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सिसिएमसी) मा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले, बगलादेश, इन्डोनेसिया, रसिया, कोरिया फिनल्याणसँग भएको हवाई सम्झौक्ताहरु असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभाकारी बनाउनका लागि मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर सयुक्तरुपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले हप्ता दिनभित्र हवाई ईन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको छ ।

मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् ।


क्लिकमान्डु