दशैं अगाडि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी, २५ सय टन खाद्यान्न बिक्री गर्ने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

कम्पनीले विगतमा जस्तै दशैंमा उपत्यकाभित्र र उपत्यका बाहिर विभिन्न स्थानमा ग्राहकलाई सहुलियत मूल्यमा सामान प्रदान गर्ने जनाएको छ ।

कम्पनीले प्रत्येक वर्ष उपभोक्तालाई सहुलियत मूल्यमा सामानहरु प्रदान गर्दै आएको छ । यो वर्ष कोरोनाले गर्दा प्रभावित भएकाले कुन मोडालिटिमा जाने भन्ने विषयमा छलफल भइरहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

हालसम्म विभिन्न जिल्लाबाट ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएका छन् । जसमा १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याउने भएको छ । तर, बजारको माहोल अनुसार यो पनि थपघट हुने कम्पनीले जनाएको छ ।

‘अहिले कम्पनी गृहकार्य मै छ,’ उनले भनिन्, ‘कोरोनाको समयमा धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्नु चुनौती र कुन मोडालिटिमा सञ्चालन गर्नेलगायत भिडभाड नगरी कसरी सुरक्षित साथ सेवा प्रदान गर्नुपर्ने विषयमा छलफल भइरहेको छ ।’

गत वर्ष कम्पनीले चामल र चिनी बिक्री गरेको थियो । तर, यो वर्ष चामल, चिनीसहित दाल, तेल, पिठो थप गर्ने योजना बनाएको उनले बताइन् ।

त्यसमा विगतको तुलनामा नयाँ विषेश केही नभएता पनि केही खाने सामानको प्रकारको थप गर्ने योजना रहेका उनको भनाइ छ ।

हरेक वर्ष कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य बजारमा बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएकोमा यो वर्ष पनि बजार मूल्यभन्दा कम हुने उनको दाबी छ ।

गत वर्ष चामलको मूल्यमा प्रतिकेजी ५ रुपैयाँ र मासुजन्य परिकारमा प्रतिकेजी १० रुपैयाँ कम गरेको थियो । त्यस्तै यो वर्ष पनि त्यही वरिपरिमा छुट गर्ने भएको छ ।

‘अहिले कोरोनाको अवस्था सामान्य नभएका कारण कसरी ग्राहकलाई सुरक्षित रूपमा सेवा प्रदान गर्नेमा ध्यान केन्द्रित भएको छ,’ उनले भनिन्, ‘देशभरका कार्यालयबाट अनलाइन सेवा भएकाले त्यसबाट पनि सेवा प्रदान गर्ने भएको छ ।’

विगतको दिनमा उपत्यकाको हकमा ५ वटा कार्यालयबाट सेवा प्रदान गरिरहेका छन् भने उपत्यका बाहिर २३ ठाउँमा सञ्चालन गरेका थिए ।

अहिलेको अवस्थामा उपत्यकाका लागि ५ वटै कार्यालयबाट सेवा प्रदान गर्ने भएका छन् । साथै छलफलको क्रमबाट कुनै निर्देशन आएमा थपघट हुने उनले बताएका छन् ।

हाल देशभर ३५ वटा कार्यालय छन् । यसका साथै अन्य विभिन्न डिलर र सहकारीमार्फत् बिक्री गरिरहेको उनले बताइन् । कम्पनीको उद्देश्य भनेको बढीभन्दा बढी ग्राहकसामू पुग्ने भएकाले त्यही अनुरुप काम भइरहेको उनको भनाइ छ ।

त्यस्तै गत वर्षको हकमा तराई तिरको कार्यालयमा बिक्री कम भएको थियो । यो कोरोनाको समयमा ग्राहकको मागअनुसार तराईका कार्यालयहरू खुला गर्ने भएकाले गत वर्षको तुलनामा बढी हुन सक्ने उनको बुझाइ छ ।

हाल कम्पनीले विभिन्न कार्यालयमा ग्राहकहरूको कस्तो माग छ भन्ने विषय सूचना लिइरहेको र कुन-कुन ठाउँमा खोल्ने भन्ने विष्यमा निर्णय हुने बाँकी रहेको बताइन् ।

२५ सय मेट्रिकटन बिक्री गर्ने योजना
कम्पनीले यो वर्षको दशैंदेखि छठसम्मको अवधिमा २५ सय मेट्रिकटन खाद्यान्न सामग्री बिक्री गर्ने लक्ष्य लिएको छ ।

जसमा केही मात्रामा छुट हुने भएकाले यति बराबार मूल्यको सामान बिक्री हुने भन्ने यकिन छैन । साथै कम्पनीले डेढ करोडदेखि २ करोड रुपैयाँको बिक्री हुने अनुमान मात्र गरेको उनको भनाइ छ । साथै, कम्पनीले गुणस्तरमा ध्यान दिने भएकाले कम्पनीको आफ्नै मूल्य भएको बताइन् ।


क्लिकमान्डु