हवाई भाडा महंगो हुनु स्वाभाविकः पर्यटन मन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सहजरुपमा नियमित उडान नसकेको अवस्थामा हवाई भाडा महंगो हुनु स्वभाविक भएको बताएका छन् ।

बुधबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको प्रवासी कामदारहरूको उडान समस्या विषयको छलफल कार्यक्रममा बोल्दै मन्त्रीले अमेरिकाको उदाहरण दिँदै सो बताएका हुन् ।

‘अमेरिकामा दैनिक ६० हजार उडान भएकोमा अहिले २० हजार मात्रै उडान भइरहेको छ,’ मन्त्री भट्टराईले भने, ‘अहिले सहज अवस्था छैन, त्यसैले भाडा महंगो हुनु स्वभाविक हो ।’

उनका अनुसार नेपालमा पनि सामान्य अवस्थामा जस्तो नियमित उडान हुन नसक्दा धेरै समस्या भोग्न बाध्य भएका र विदेशमा रहेका नेपालीहरू आउन नपाएको बताए ।

हाल विश्वमा औसतमा ५० प्रतिशतभन्दा हवाई उडान कम भएको हुनाले यस समयलाई मध्यनजर गर्दै सबैलाई सहयोग गर्नुपर्ने बताए । नेपाल उडान हुन नसक्दा धेरै नेपालीले सरकारले दोश दिएको उनले गुनासो पोखे ।

‘विदेशमा धेरै नेपालीले विभिन्न समस्या भोगिरहेको बेला त्यहाँको कामदारले सरकारलाई दोष दिने, सरकारले विदेशमा रहेका कामदारलाई दोष दिने र पत्रकारले परिस्थितिको नबुझी रिपोटिङ गरिरहेका छन्,’ उनले भने ।

यो समयमा सबैले साथ दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै, कोरोना महामारीका कारण विदेशमा अलपत्र तथा नेपाल फर्कन चाहने नागरिकहरूलाई गन्तव्य मुलुकले उडान खुलाएको अवस्थामा नेपालमा कुनै समस्या नभएको उनको भनाइ छ ।

सम्बन्धित देशको आ–आफ्नो प्रोटोकल भएकाले उक्त प्रोटोकल पूरा भएमा विदेशमा रहेका नेपाली ल्याउन कुनै कठिन नरहेको उनले स्पष्ट पारे ।

सरकारले कामदारको सहजताका लागि समस्यामा परेका नेपालीलाई उद्दार गर्नका लागि नियमित उडान गर्ने निर्णय गरेको बताए । सरकारले चार्टर्ड उडानभन्दा नियमित उडानमा जोडबल गरिरहेकाले सम्बन्धित देशमा नियमित उडान भएमा विदेशबाट सहजै नेपाल आउन सक्ने उनको भनाइ छ ।

यस्तै, विदेशबाट फर्किने कामदारले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने र पिसिआरको रिपोर्ट नभएमा नेपाल आएर एक हप्ता होटल क्वारेन्टिनमा बस्नुपर्ने उनले बताए ।

लामो समयको बन्दाबन्दीमा सरकारले अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनको लागि जेठ १६ गतेबाट शुरु गरेको थियो । तर, भाडा महंगो भन्दै आलोचना भएको थियो ।

उक्त आलोचना भएसँगै सरकारले दुईपटकसम्म भाडा घटाएको थियो । तर, भाडा घटाए पनि आफूसँग पैसा नभएर अलपल परेका नेपाली अझै नेपाल फर्कन सकेका छैनन् ।

अलपत्र परेका नागरिकलाई कल्याणकारी कोषबाट उद्दार गर्ने र दुतावासले सरकारसँग समन्वय गरेर अलपत्र परेका नेपालीको पहिचान गर्नुपर्ने बताए ।

कोरोनाको समयमा हवाई कम्पनीले कामदारसँग ठगेको, ज्यादती गरेको, भाडा महंगो लिएका सरकारले उडानको अनुमति नदिने बताए । अहिले केही वातावरण सहज भएको उनको बुझाइ छ ।

त्यसैगरी, कार्यक्रममा ओमस्थित नेपाली दूतावास सर्मिला पराजुली ढकालका अनुसार करार अवधि सकेका १५ सय नेपाली घर जानका लागि पर्खिरहेको बताइन् ।

साथै, अलपत्र परेका २ सय नेपाली नागरिकलाई दूतावासले खाद्यान्न उपलब्ध गराएको जानकारी समेत दिइन । उनले विभिन्न संघसंस्थासँग समन्वयमा ३ हजार नेपाली फर्किसकेको समेत बताइन् ।


क्लिकमान्डु