अर्थमन्त्रालयः खतिवडाको निर्णय, प्रधानमन्त्रीको ओली हस्ताक्षर



काठमाडौं । डा. युवराज खतिवडा राष्ट्रियसभामा सदस्य बन्न नसकेपछि अर्थमन्त्रालय अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मामा छ ।

मन्त्रालयहरुमा निकै महत्वपूर्ण मानिएको अर्थमन्त्रालय मन्त्रिबिहिन भएर चलेको तीनसाता हुन थाल्यो ।

नेकपामा अहिलेका मन्त्रीहरु कसरी परिवर्तन गर्ने र अर्थमन्त्रालय कसलाई दिनेमा सहमति जुटेको छैन ।

खतिवडालाई राष्ट्रियसभा बन्न बाधक बनाएर मन्त्रीबाट हटाएका नेकपाका उपाध्यक्ष बामदेव गौतम आफै अर्थमन्त्रीका लागि दाबेदार छन् ।

यसबाहेक पार्टीका महासचिव समेत रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेल तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे समेत अर्थमन्त्रीका दाबेदार हुन् । ओली सरकारमा नै उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेका ईश्वर पोखरेल समेत अर्थमन्त्रीको दाबेदार हुन् ।

प्रधानमन्त्री ओलीको इच्छा भने अर्थमन्त्रालयको जिम्मेवारी ठूला नेता कसैलाई नदिएर आफै राख्ने र दैनिक कामका लागि अर्थराज्यमन्त्रीमा कसैलाई जिम्मेवारी दिनेमा छ ।

यसको संकेत प्रधानमन्त्री ओलीले अर्थमन्त्रीबाट हटेपछि खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएपछि गरेका छन् ।

अर्थमन्त्रालयका एक उच्च अधिकृतले अहिले अर्थमन्त्रालयमा मन्त्रीकारुपमा हस्ताक्षर प्रधानमन्त्रीको चल्ने तर, नीतिगत निर्णय भने खतिवडाले लिने गरेको बताए ।

‘सचिवज्यूले हस्ताक्षरका लागि प्रधानमन्त्रीसँग भेट्नुहुन्छ भने नीतिगत निर्णयको छलफल खतिवडासँगै गर्नुहुन्छ,’ ती अधिकृतले भने ।

अर्थमन्त्रालयका अधिकारीहरु प्रधानमन्त्रीको व्यस्तताले कतिपय निर्णयमा ढिलाई समेत हुने गरेको बताउँछन् ।

‘सरकारको खर्चसँग सम्बन्धित मन्त्रालय भएको हुँदा अर्थमन्त्रीको जिम्मेवारी अरुभन्दा बढी हुन्छ, लामो समयसम्म मन्त्री नबनाउने र प्रधानमन्त्रीबाट मात्र चलाउने नीतिले काम गर्न व्यवहारिक रुपमा कठिनाई हुन्छ,’ अर्थमन्त्रालयका एक अधिकारीले भने ।

कतिपय विषयमा अर्थमन्त्रीसँग सहसचिव तथा उपसचिव तथा अधिकृतले नै छलफल गर्नुपर्ने हुन्छ । जुन प्रधानमन्त्रीको अगाडि त्यती सम्भव नै हुँदैन ।

‘काम नरोकिए पनि व्यवहारिकरुपमा समस्या अहिले अर्थमन्त्रालयमा देखिएको छ, सायद हामीले छिटो नै मन्त्री पाइएला,’ अर्थमन्त्रालयका ति अधिकारीले भने ।

प्रधानमन्त्री ओलीले खतिवडा अर्थमन्त्रीबाट हटेर आफूले अर्थमन्त्रालयको जिम्मेवारी लिएपछि बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिलाई भेट्न बोलाएका थिए । त्यो बेला खतिवडाको विशेष आर्थिक सल्लाहकारमा समेत नियुक्ति भएको थिएन । सो बैठकमा व्यवसायीलाई प्रधानमन्त्री ओलीले भन्दा बढी भनाइ खतिवडाले राखेका थिए ।

प्रधानमन्त्री ओलीले खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएर अर्थमन्त्रालय आफूसँग राख्ने नीतिले नेकपामा अर्थमन्त्री बन्न लायक व्यक्ति नै नभएको सन्देश दिएका छन् ।

‘अर्थमन्त्री बन्न योग्य व्यक्ति नभएको सन्देश यसले जनतामा जान्छ, जुन राम्रो होइन,’ नेकपामा एक नेताले भने ।

कोभिडको कारण नेपाली अर्थतन्त्र राम्रो अवस्थामा छैन । नकरात्मकमा जान मात्र जोगिएको हो । प्रधानमन्त्री संविधान दिवसको अवसरमा अर्थतन्त्र राम्रो स्थितीमा रहेको र बैंकहरुमा फालाफाल पैसा भएको बताएका थिए ।

‘लकडाउन तथा निषेधाज्ञा खुलेपनि उद्योगहरु पूर्णक्षमतामा चलेका छैनन्, व्यवसायमा गति लिन सकेको छैन, यो बेला अर्थमन्त्रालय नेतृत्वबिहीन हुनु राम्रो होइन,’ अर्थमन्त्रालयका एक सहसचिवले भने ।

सामान्यतया अर्थमन्त्री काठमाडौंमा हुँदा सचिव तथा सहसचिवसँग नीतिगत विषयमा छलफल दैनिकजसो हुने गर्छ । यद्यपि अनौपचारिक खालका छलफल अर्थमन्त्रीमा खतिवडा आएपछि नै कम भएको थियो ।


क्लिकमान्डु