अन्य क्षेत्रमा रोजगारी गुम्दा ई-कमर्श कम्पनीले खुलाए १५ सयभन्दा बढीलाई जागिर



काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ठूलो संकटमा पर्यो । व्यापार व्यवसाय ठप्प भए भने उद्योग, कलकारखाना सञ्चालन हुन सकेनन् ।

जसका कारणले कैयनले रोजगारी गुमाए भने कतिले पारिश्रमिक पाउन समेत मुस्किल पर्यो । सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रका होटलमा कार्यरत मजदुर तथा श्रमिकहरुले त न्यूनतम तलब तोक्नु पर्ने अवस्था आयो । पर्यटनका अन्य क्षेत्रका मजदुरहरुले राहत नपाएको अवस्थामा सडक आन्दोलन नै गर्ने चेतावनी दिइसकेको अवस्था छ ।

तर लकडाउनबीच पनि केही व्यवसाय भने चम्किएका छन् । जसमध्येको एक हो ई–कमर्श । अनलाइनबाट सपिङ गर्न मिल्ने र सामान घरमै दैलोमा डेलिभरी हुने सुविधा भएको यो व्यवसाय निकै बढ्यो । यसबीच नयाँ कम्पनी समेत आए भने उनीहरुले पनि राम्रो व्यापार गर्न सफल भए ।

विशेष गरी लकडाउनका कारण तरकारी किन्न समेत नपाइने र कोरोनाको जोखिमले मानिसहरु घरबाट निस्केर पसलसम्म जान संकोच मानिरहेको अवस्थामा ई–कमर्श जस्ता प्लेटफर्मले भने घरघरमै सामान डेलिभरी गरेर मानिसको समस्या समाधान गरेका थिए ।

लकडाउन र निषेधाज्ञामा यी कम्पनीको व्यापार बढेसँगै रोजगारी पनि बढाएका छन् । सामान्य कम्पनीमा मात्रै पनि ५० जना भन्दा बढीले काम गरिरहेका छन् । यी कम्पनीमा न त तलबको चिन्ता छ न त जागिर गुम्ने नै तनाब छ ।

बजार बढ्दै जाँदा कम्पनीहरु रोजगारीको संख्या समेत थप गर्दै लगेका छन् । लकडाउन यता मात्रै यस्ता ठूला कम्पनीहरुले २ हजारदेखि ३ हजार जनासम्मलाई रोजगारी दिने योजना बनाएका छन् ।

करिब १५ सयका लागि रोजगारी सिर्जना हुँदै
ई–कमर्श व्यवसायको बजार बढ्दै जाँदा कम्पनीहरुले रोजगारी पनि थप्न थालेका छन् । लकडाउन र निषेधाज्ञाको समयमा चम्किएको व्यापारबाट हौसिएका कम्पनीहरुले दशैंमा पनि व्यापार बढ्ने योजनामा स्थायी र अस्थायी कर्मचारी नियुक्त गर्न लागेका हुन् ।

लामो समयदेखि सञ्चालन भइरहेको र केही समय अघि मात्रै भारतीय कम्पनी फिल्पकार्टसँग सहकार्य गरेको ‘सस्तो डिल’ कम्पनीले केही दिनभित्रै ५ सय जना नयाँ कर्मचारी थप गर्ने योजना बनाएको छ ।

कम्पनीमा लकडाउनको समयमा कर्मचारीका लागि कोभिड फन्ड समेत बनाएर सहयोग गरेको थियो । जसबाट कोभिडका कारण समस्यामा परेका कर्मचारीहरुलाई सहयोग गरिएको थियो । साथै लकडाउनको समयमा कोरोनाको जोखिम लिएर काम गर्ने कर्मचारीहरुलाई अतिरिक्त सुविधा पनि दिएको कम्पनीका सञ्चालक अमुन थापाले जानकारी दिए ।

कम्पनीले लकडाउनको समयमा ४०० प्रतिशतसम्म व्यापार बढाएको थियो । हाल कम्पनीमा १ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन् भने कम्पनीले ‘चंगा चैट टिम’ नाममा ५०० जना कर्मचारी थप गर्ने योजना बनाएको छ ।

त्यसैगरी दराज अनलाइनले पनि अस्थायीरुपमा ७०० जना कर्मचारी थप गर्ने भएको छ । कम्पनीले दशैंलाई लक्षित गरी ७०० जना अस्थायी कर्मचारी थप गर्ने योजना बनाएको हो ।

कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, बुटवल, वीरगञ्ज, बिराटनगर, जनकपुर र चितवनका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कम्तीमा एसएलसी पास भएको, दुई पांग्रे सवारी साधन चलाउन जान्ने, लाइसेन्स भएको, अंग्रेजी बोल्न र लेख्न सक्ने कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार अक्टोबर ६ ताखिरसम्म इच्छुकले आवेदन दिन सक्नेछन् ।

लकडाउन शुरु भएपछि व्यवसाय शुरु गरेको नयाँ कम्पनी ग्यापुले पनि दशैं र तिहारका लागि स्थायी र अस्थायी गरी १ सय अतिरिक्त कर्मचारी नियुक्त गर्ने योजना बनाएको कम्पनीका सञ्चालक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार हाल कम्पनीमा विभिन्न विभागमा गरी १५० जना कर्मचारी हाल कार्यरत छन् । अब कम्पनीले थप १ सय जना कर्मचारी थप गर्ने खड्काले जानकारी दिए । कम्पनीले हाल दशैंका लागि लक्षित गरी कुखुरा, हाँस र खसी नै होम डेलिभरी गर्ने योजना बनाएको छ ।

खड्काका अनुसार कम्पनीले न्यूनतम १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक दिने उनले जानकारी दिए । डेलिभरीको हकमा आफ्नै बाइक भएको वा लाइसेन्स भएको हुनुपर्नेछ भने अन्य विभागमा काम गर्नेहरुको हकमा आइटीमा ज्ञान भएको हुनुपर्नेछ । साथै कम्पनीले डेलिभरी सेवालाई अझ चुस्त बनाउनका लागि २५ वटा डेलिभरी भ्यान समेत थप गर्दैछ ।

‘सबै स्टार्टअपहरुको आँकडालाई हेर्ने हो भने उपत्यकामा हजारौंले रोजगारी पाइरहेका छन्, अर्बौ रुपैयाँ लगानीमा खुलेका उद्योगले भन्दा केही लाख वा करोडमा खु्लेका स्टार्टअप कम्पनीहरुले राम्रो संख्यामा रोजागरी सृजना गर्न सक्छन् भन्ने यो उदाहरण हो,’ खड्काले भने ।

उनले राज्यले स्टार्टअपहरुलाई प्रोत्साहन गर्न सके केही वर्षमै १०औं हजार रोजगारी सृजना गर्न सकिने देखिएको बताए । त्यसैले सरकारले यस्ता विषयमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

त्यसैगरी अन्य कम्पनीहरुले पनि १० जनादेखि ५० जनासम्म अस्थायी तथा स्थायी दुबै खाले कर्मचारी नियुक्त गर्ने जानकारी दिएका छन् । यसरी हेर्दा एक महिनामै ई–कमर्श कम्पनीहरुले १५ सयभन्दा बढी रोजगारी सृजना गर्दैछन् ।


क्लिकमान्डु