पर्यटन क्षेत्रका मजदुर आन्दोलित, केही दिनभित्रै राहत नपाए आन्दोलन गर्ने



काठमाडौं । कोभिड १९ का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् ।

पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिनभित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो ।

संघर्ष समितिका संयोजक प्रकाश घायल राईले लकडाउनका कारण लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाई नभएको बताए ।

उनले तत्काल ‘मजदुर कल्याणकारी कोष’को रकमबाट आफुहरुलाई राहत दिनुपर्ने माग समेत गरे ।

‘धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई भएन,’ उनले भने, ‘५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको छ, त्यो रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले मानेका छैनन् ।’

उनले आफैले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदुरहरु समस्यामा परेको बताए ।

सरकारबाट लाइसेन्स प्राप्त २५ हजार मजदुरहरु अहिले समस्यामा परेकोले तत्काल राहत दिनुपर्ने उनको माग छ ।

अबको केही दिन भित्रमा राहत पाउन नभए सबै मजदुर सडका उत्रने स्थिति आउने उनले चेतावनी दिए ।

विपद्को बेलामा भोक लाग्यो भन्दा सरकारी निकायबाट सुनुवाई हुँदैन भने आफुहरु बैचारिक र भौतिकरुपमा आन्दोलनमा उत्रने र त्यसबाट दुर्घटना भए जिम्मेवारी सरकारले लिनुपर्ने राईको भनाइ छ ।

गत वर्षको चैत महिना यता कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प छ । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको छ ।


क्लिकमान्डु