सञ्चयकोषमार्फत् वित्तीय क्षेत्रदेखि हाइड्रोसम्मका २१ कम्पनीमा सरकारको लगानी, कुनमा कति ?



काठमाडौं । नेपालको सरकारी, निजी र सार्वजनिक क्षेत्रको कर्मचारीहरूको लागि रकम सञ्चय गर्ने उद्देश्यले कर्मचारी सञ्चय कोष २०१९ भदौ ३१ गते स्थापना भएको हो ।

कोषमा आवद्ध निजामती कर्मचारी, शैनिक, प्रहरी, शिक्षक, सार्वजनिक सस्थान तथा निजी क्षेत्रका कामदार तथा कर्मचारीले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत र सम्बन्धित रोजगारदाता संस्थाले १० प्रतिशत रकम जम्मा गर्ने व्यवस्था छ ।

स्थापनाको ५९औं वर्षमा आइपुग्दा सञ्चय कोष करिब ६ लाख २८ हजार सञ्चय कर्ताको झण्डै ४ खर्ब रुपैयाँ बचत गरिसकेको छ । सो बचत वापत कोषले बचतकर्तालाई ७ प्रतिशत ब्याज दिन्छ भने १ प्रतिशत मुनाफासमेत दिने गरेको छ ।

सञ्चयकर्ता आफ्नो मासिक पारिश्रमिकबाट कटाएर जम्मा गरको रकम कहाँ लगानी भएको छ ? त्यो आम सर्वसाधारण तथा स्यम् सञ्चयकर्ताको पनि चासोको विषय हो ।

कर्मचारीको परिश्रमिक सञ्चय गर्ने कोषले सञ्चिति रकम कोषले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको कुनै निकायद्वारा प्रवद्र्धित ऊर्जा उत्पादन र प्रशारण, कृषि विकास, पर्यटन र ठूला पूर्वाधार निर्माणको क्षेत्रमा सेयर लगानी गर्न सक्ने प्रवधान कोषको ऐनमा उल्लेख छ ।

साथै, कोषले सञ्चितिको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दतिमा लगानी र विभिन्न आयोजनाहरुमा कर्जा लगानी समेत गरिरहेको छ । जसबाट प्राप्त लाभ कोषले सञ्चयकर्ताहरुमा वितरण गर्ने गरेको छ ।

कोषले सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको मुद्दति निक्षेपमा मात्र १ खर्ब ८ अर्ब रुपैयाँ लगानी गरेको छ । साथै, हालसम्म कोषले बैंक तथा वित्तीय संस्था, जलविद्युत कम्पनी, बीमा कम्पनी लगायत २१ वटा विभिन्न संघ संस्था लगानी गरेको छ । जसमा कोषले १६ वटा बैंक तथा बीमा कम्पनीमा ०.०२ प्रतिशतदेखि १५.०८ प्रतिशतसम्म सेयर लगानी छ ।

साथै कोषले ३ वटा जलविद्युत कम्पनी, २ वटा बीमा कम्पनी, सिभिआइएल क्यापिटल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत सेयर लगानी गरको छ ।

गत आवमा नेपाल राष्ट्र बैंकले नेप्सेमा भएको आफ्नो सेयर बिक्री गरेको थियो । जसमध्ये १० प्रतिशत सेयर सञ्चय कोषले खरिद गरेको हो । सिभिआइएल क्यापिटलमा भने कोषको करिब ४ प्रतिशतसम्म सेयर स्वामित्व रहेको सञ्चय कोष स्रोतले जानकारी दिएको छ ।

३ बर्षयता कोेषमार्फत् सरकारको निजी क्षेत्रमा लगानी

सरकारी निकायको कर्मचारी सञ्चयकोषले गरेको सेयर लगानीहरुमा प्रायजसो कम्पनी स्थापनाको क्रममा नै भएको छ ।

तर पछिल्ला ३ वर्षयता कोषले ८ वटा संघ संस्थाले बोलपत्रमार्फत् बिक्री गरेको संस्थापक सेयर समेत खरिद गरेको छ । जसमा नेपाल बैंक र नेप्से सहित निजी क्षेत्र ६ वटा वाणिज्य बैंकहरुको संस्थापक सेयर बोलकबोलमार्फत् खरिद गरेको छ ।

कोषले २०७५ सालदेखि २०७६ सालसम्म ६४ लाख बढी कित्ता संस्थापक सेयर खरिद गरेको छ । जसमा कोषले पहिलो पटक सिभिलको २७ लाख, दोस्रो पटक १७ लाख र तेस्रो पटक २० लाख गरी संस्थापक सेयर खरिद गरेको हो । हाल बैंकमा कोषको ८.५२ प्रतिशत सेयर स्वामित्व छ ।

यसैगरी, कोषले २०७५ चैतमा सानिमा बैंकको २७ लाख १८ हजार कित्ता संस्थापक सेयर खरिद गरेको थियो । सोही बर्ष नै कोषले सेन्चुरी बैंकको ४ लाख ७८ हजार कित्ता संस्थापक सेयर खरिद गरेको थियो ।

हाल कोषको सानिमामा ३.०९ प्रतिशत र सेन्चुरीमा ०.५८ प्रतिशत सेयर स्वामित्व छ । साथै, कोषले नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर २०७६ साल कात्तिकमा ३९ लाख ३८० कित्ता संस्थापक सेयर खरिद गरको थियो ।

हाल बैंकमा ०.०२ प्रतिशत सेयर स्वामित्व छ । कोषले २०७४ सालमा सिभिल क्यापिटलको ४५ हजार ७८० कित्ता संस्थापक सेयर खरिद गरेको छ । हाल कोषको उक्ता क्यापिटलमा करिब ४ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै, गत अबमा कोषले प्रभुको २८ लाख १० हजार कित्ता संस्थापक सेयर प्रति कित्ता १ सय २२ रुपैयाँ ५ पैसाले खरिद गरेको थियो । त्यसपछि बैंकमा कोषको हाल ३.९७ प्रतिशत सेयर स्वामित्व छ ।

कोषले सरकारी बैंक नेपाल बैंकको २०७४ सालमा ३५ लाख कित्ता र नेप्सेको २०७६ साउनमा ५ लाख कित्ता संस्थापक सेयर खरिद गरेको छ ।

कोषको सेयर लगानी कुन बैंकमा कति ?

सञ्चयकोष ऐनअनुसार काषले बैंक तथा तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्दा सो बैंक वा वित्तीय संस्थाको निष्काशित पूँजीको २५ प्रतिशतमा नबढ्ने गरी लगानी गर्न पाउने प्रावधान छ । जसअनुसार कोषले एक वटा सरकारी बैंक सहित १२ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकको सेयरमा ०.०२ प्रतिशतदेखि १५ प्रतिशतसम्म लगानी गरेको छ ।

कोषले ३ वटा वाणिज्य बैंकमा १० प्रतिशतभन्दा बढी सेयर लागनी गरेको छ । जसमा नेपाल एसबीआई बैंकमा १५ प्रतिशत, बैंक अफ काण्माण्डूमा १४ प्रतिशत र हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व कोषको छ ।

साथै, कोषले सिभिल बैंकमा ८.५२ प्रतिशत र एनएमबी बैंकमा ६.८७ प्रतिशत संस्थापक सेयरमा लगानी गरेको छ । साथै बैंकको नेपाल बैंकमा समेत ३.६४ प्रतिशत संस्थापक सेयर छ ।

यस्तै, कोषमा प्रभुको ३.९७ प्रतिशत सानिमा बैंकमा ३.९७ प्रतिशत सेयर स्वामित्व छ ।

कोषको साविकको देव विकास बैंकमा ४.५६ प्रतिशत सेयर थियो । कुमारीले बैंक देवलाई प्राप्ति गर्दा १.०८६ प्रतिशत स्वाप रेसियो दिएको थियो । जसपछि देवमा भएको कोषको ४.५६ प्रतिशत सेयर हाल कुमारी बैंकमा १.८३ प्रतिशतमा सीमित भएको छ ।

सनराइज बैंकमा भएको कोषको ०.६३ प्रतिशत सेयर स्वामित्व छ । कोषको सो सेयर बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्ने क्रममा सनराइजमा आएको कोषले जानकारी दिएको छ ।

कोषको सेञ्चुरी कर्मसियल बैंकमा ०.५८ प्रतिशत र नेपाल इन्भष्टमेन्ट बैंकमा ०.०२ प्रतिशत संस्थापक सेयर छ । कोषको २ वटा विकास बैंकहरुमा पनि सेयर स्वामित्व छ । जसमा महालक्ष्मी विकास बैंकमा ०.०८ प्रतिशत र सिन्धु विकास बैंकमा ०.०७ प्रतिशत सेयर छ ।

बीमा कम्पनीमा कोषको लगानी

यस्तै, सञ्चय कोषले सरकारी र निजी गरी २ वटा बीमा कम्पनीहरुमा पनि सेयर लगानी गरेको छ । कोषल राष्ट्रिय बीमा कम्पनीमा ०.२२ प्रतिशत र प्रभु इन्स्योरेन्समा १५.०८ प्रतिशत सेयर लागनी गरेको छ । हालसम्म कोषले गरेको सेयर लगानी मध्ये सबैभन्दा धेरै प्रभु इन्स्योरेन्समा हो ।

जल विद्युत कम्पनीमा कोषको लगानी

सञ्चय कोषले जल विद्युत क्षेत्रका ३ वटा कम्पनीमा लगानी गरेको छ । कोषको जल विद्युत लगानी तथा विकास कम्पनी र विद्युत उत्पादक कम्पनीमा १०/१० प्रतिशत सेयर स्वामित्व छ । यी कम्पनीहरु सञ्चालनमा आउनै नै बाँकी छन् । साथै, कोषले बेतन कर्णाली हाइड्रो पावर कम्पनीमा समेत १५ प्रतिशत सेयर लगानी गरेको छ ।


पुष्प दुलाल