माग घटेपछि औषधि उद्योग देउराली जनता फर्मास्युटिकल बन्द



काठमाडौं । देशकै ठूलोमध्येको एक औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल बन्द भएको छ ।

कोराना भाइरसका कारण औषधिको माग अत्याधिक घटेको, कच्चा पदार्थको अभाव भएको र उधारोमा बिक्री गरेको औषधिको पैसा उठ्न नसकेपछि उद्योग बन्द गर्नु परेको फर्मास्युटिकलका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।

उत्पादन गरेको औषधि बजारमा बिक्री नभएको र नयाँ उत्पादनको माग आएको छैन ।

‘लकडाउनको केही दिनयताबाट बजारमा औषधिको माग नै भएन, त्यस बीचमा कच्चा पदार्थ व्यवस्थापनमा पनि समस्या भयो र उधारोमा बिक्री गरिएको पैसा पनि उठेन,’ अध्यक्ष शर्माले क्लिकमाण्डूसँग भने, ‘जसकारण केही समय उद्योग बन्द गरेका थियौं ।’
बीच बीचमा औषधिको माग आएमात्र उद्योग खोली सोही अनुसारको औषधि उत्पादन गरिरहेका शर्माले जानकारी दिए ।

‘डिमाण्ड हेरेरमात्र काम गरिरहेका छौँ, केही सातायता उद्योग बन्द थियो । तर अहिले मुटु सम्बन्धी औषधिको माग आएको हुँदा आजदेखि पुन उद्योग खोलेका छौँ,’ उनले भने, ‘औषधीको उत्पादन गरेपछि लामो समयसम्म स्टोर गरेर राख्न मिल्दैन, त्यसकारण बजारमा जुनबेला चाहिन्छ त्यही बेला उत्पादन गर्ने भनेर बेला÷बेलामा उद्योग बन्द गरिएको हो ।’

सामान्य अवस्थाको तुलनामा अहिले ५० प्रतिशतभन्दा बढी औषधीको माग घटेको हुँदा औषधिको माग रोकिएमा पुनः उद्योग बन्द गरिने उनले जानकारी दिए ।

‘बजारमा बेच्न सकिएन भने बनाएर राखेरमात्र हुँदैन, औषधिको सेल्सलाइफ हुन्छ,’ उनले भने ‘औषधीका प्रकार अनुसार न्यूनतम ४०/५० प्रतिशत औषधीको माग घटेको छ ।’

अहिलेको अवस्थामा आवश्यक कच्चा पदार्थसमेत आयात गर्न धेरै समस्या भएको र बजारमा नगद प्रवाह उद्योग सञ्चालनमा ठूलो समस्या भएको उनले बताए ।

‘आयात गरिएको कच्चा पदार्थबाट उत्पादन सबै क्रेडिटमा बजारमा पठाउनु पर्ने हुँन्छ,’ शर्माले थपे, ‘बजारबाट कहिले पैसा आउँछ थाह हुँदैन । तर अन्तर्राष्ट्रिय बजारमा पैसा नभई सामान दिँदैनन् ।’

त्यसकारण अहिले उद्योगहरुमा भएको मुख्य समस्या नै नगद प्रवाह व्यवस्थापन भएको उनले बताए । राष्ट्र बैंकले पुनरकर्जाको रमक बैंकहरुमा पठाउन थालेपनि बजारमा नगद प्रवाह सहज हुने अनुमान छ ।


पुष्प दुलाल