सवारी साधनको लाइसेन्स वितरण शुरू, ५ लाख लाइसेन्स तयार



काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण शुरु भएको छ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण पूर्णरूपमा बन्द भएको यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण शुरु गरेको हो ।

हाल काठमाडौंको ठूलो भ¥याङस्थित कार्यालयले सूचना निकालेर लाइसेन्स वितरण शुरु गरिसकेको छ ।

लाइसेन्सका लागि प्रिन्ट भए नभएको यकिन गरेर लिन आउन भनेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुने कार्यालयले जनाएको छ । तर, अन्य यातायात व्यवस्था कार्यालयमा भने सवारी चालक अनुमतिपत्र वितरण शुरु गरेका छैनन् ।

काठमाडौंका लागि भीडभाड नगरी एकैपटक लाइसेन्स वितरण गर्ने मन्त्रालयले छलफल गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कुनै निर्देशन नदिएको प्रदेश नम्बर ३ का भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता नविन कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले कार्यालय आफैले कोरोनाको समयमा के कसरी व्यवस्थापन गरी सञ्चालनमा ल्याउने त्यसमा विभागसँग समन्वय गरेर खोल्नुपर्ने छलफल भएको बताए ।

साथै, महामारीको समयमा सामाजिक दुरी कायम गर्ने, भीडभाड कम गर्ने जस्ता सबैमा कार्यालयले आफै व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् । त्यस्तै, दैनिक कति जनालाई दिन सकिन्छ भन्ने विषयमा छलफल गरेर सञ्चालनमा ल्याउने उनले बताएका छन् ।

‘अब केही दिनमा सबै कार्यालय सञ्चालनमा आउँछन्,’ उनले भने, ‘हाल प्रिन्ट भएको ५ लाख लाइसेन्स तयारी अवस्थामा छ ।’

यसका साथै, नयाँ वितरणका लागि ट्रायल दिनेलगायत अन्य गतिविधिमा पनि कार्यालयले आफै व्यवस्थापन गरी सञ्चालनमा ल्याउने उनको भनाइ छ ।


क्लिकमान्डु