तरकारीमा कृषि मन्त्रीको दोहोरो चरित्रः भारतीयलाई सहज बजार, नेपालीकाे खाल्डाेमा



काठमाडौं । सरकारको लापरवाहीका कारण लकडाउनको समयमा कृषकले उत्पादन गरेको सामग्री कुहिएर फाल्नु परेको तथ्य सार्वजनिक भएको छ ।

विशेष गरी कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल तथा उनको नीतिगत एवम् व्यवहारिक कमजोरीका कारण किसानले दुःख गरेर उब्जाएको तरकारी तथा तरकारीजन्य सामग्री खेर फाल्नु परेको हो

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘सहकारी र उत्पादन’ विषयक छलफल कार्यक्रममा सहभागी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले यस्तो खुलासा गरेका हुन ।

‘लकडाउनको सुरुमा नै हामीले कृषि मन्त्रीलाई लिखित रुपमा भारतबाट आउने तरकारी रोकिदिनु, हाम्रो उत्पादनका तरकारी बिक्री भएन भन्दा उहाँले अहिले हामीले त्यो गर्न सक्दैनौ, हाम्रा धेरै व्यापारीक सम्बन्धहरु छन, भर्खरै रोक्न सक्ने अवस्था छैन भन्नु भएको थियो ।’

कार्यक्रममा उनले भारतबाट लकडाउनको समयमा ४६ अर्ब रुपैयाँ बढीको कृषि उपज आयात भएको भएपनि नेपालमा उत्पादन भएको तरकारी ट्रक, ट्रक नै फाल्नु परेको बताए ।

‘लकडाउनको समयमा मकवानपुरमा ११ लाख किलो काउली, मुला बन्दा लगायत अन्य तरकारीसहित करिब १८ लाख किलो तरकारी खेर गयो, उत्पादन भएको काउलीले बजार नपाएपछि ५ रुपैयाँ किलोमा बिक्री गर्न बाध्य हुनु पर्यो, अध्यक्ष कंडेलले भने ‘मकवानपुरमा मात्रै होइन, मोरङमा पनि धेरै गोलभेडा खेर गयो । कृषकको उत्पादन खेर गएपछि त्यहाँका कृषि सहकारीले १२ रुपैयाँ किलो गोलभेडा किनेर १५ रुपैयाँमा बिक्री गरे ।’

लकडाउनको समयमा विभिन्न जिल्लाका कृषि संघले उत्पादन गरेको तरकारी काठमाडौं ल्याएर बिक्री गर्न खोज्द यहाँ कोरोना सर्छ भनेर बिक्री गर्न नदिएको आरोप समेत अध्यक्ष कंडेलले लगाए ।

उनले कृषि सहकारी संघले नै सरकारलाई जग्गा मागेको र सहकारीका सदस्यले उत्पादन गरेको र संकलन गरेको तरकारी त्यहाँ बिक्री गर्न खोज्दा सरकारले कुनै वास्था नगरेको धारणा राखे ।

सरकारले जग्गा उपलब्ध गराउने हो भने सहकारीले कृषकले उत्पादन गरेको तरकारी खेर जान नदिने उनको दाबी छ ।

अहिले बजारिकरणको पनि समस्या रहेको भन्दै त्यसको व्यवस्था सरकारले गर्न आवश्यक रहेको भएपनि लामो समयदेखि सरकारले कुनै वास्था नगरेको उनको तर्क छ ।

अबको केही समयमा नै अनलाइन मार्केटिङ गर्ने व्यवस्था गर्न लागेकोले कृषकको उत्पादनले केही हदसम्म बजार पाउने उनको भनाइ छ । यसले बजारिकरणमा पनि सहयोग गर्ने अध्यक्ष कंडेलले बताए ।

अध्यक्ष कंडेलका अनुसार यो वर्ष तराइका जिल्लामा उत्पादन भएको माछाले बजार पाएका छैनन् । त्यसमा राज्यले ध्यान नदिँदा कृषकले मार खेप्नु परेको उनको धारणा छ ।

कंडेलका अनुसार नेपालमा ९ लाख लिटर दुधमा प्रत्येक दिन उत्पादन हुनेमा ६ लाख लिटर दुध सहकारिमार्फत आउने गरेको छ ।

लकडाउन यता ढेड लाख लिटर दुध प्रयोग हुने र र बाँकी डेढ लाख लिटर खेर जाने गरेको छ । दुधबाट नै अहिले प्रतिदिन साढे ४ करोड रुपैयाँसम्म दुध बिक्रीबाट सहरको पैसा गाँउ जाने गरेको छ ।

सहकारीमार्फत प्रशोधन गर्ने २५ वटा उद्योग र ५०० वटा दुग्ध सहकारीमा चिलिङ भ्याट रहेका छन् ।

नेपाल कुखुरा र अण्डामा आत्मनिर्भर भएपनि कोरोनाको कारण कुखुरा र अण्डाले बजार नपाएको उनको गुनासो छ । सहकारीले सफ्ट लोन दिएर भएको बाख्रा, भेडा पालन हुँदा मासुमा आत्मनिर्भर हुन सफल भएको उनको दाबी छ । यसमा सहकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।


पुष्प दुलाल