दशैं नजिकिँदै गर्दा गाडी विक्रेतामा छैन उत्साह, स्किम ल्याउने नल्याउनेमा अन्योल



काठमाडौं । गाडी बिक्रेताका लागि दशैं चाड मात्रै नभइ सबैभन्दा बढी व्यापार गर्ने अवसर पनि हो । विगतका दिनमा विभिन्न आकर्षित अफर ल्याउँदै ग्राहक आकर्षित गर्ने अवसर पनि हुन्थ्यो ।

तर यसपाली भने विगतका वर्षमा जस्तो उत्साह देखिएको छैन । जसका कारण गाडी बिक्रीमा उल्लेख्य कमी आउने देखिएको छ ।

६ महिना लामो मुलुकमा लागू भएको लकडाउन तथा निषेधाज्ञा र त्यसले निम्त्याएको आर्थिक संकटका कारण गाडी बिक्रीमा पनि कमी आएको व्यवसायीहरु बताउँछन् ।

चैतदेखि लागू भएको लकडाउनपछि ठप्प भएको सवारी साधन बिक्रीको गती बढाउन लकडाउन खुकुलो भएका बेलामा जेठ र असारमा व्यवसायीहरुले विभिन्न अफर ल्याएर व्यवसायलाई गती दिने प्रयास गरेका थिए । उक्त प्रयासले थोरबहुत भरथेग गर्ने प्रयास भए पनि दोस्रो चरणको लकडाउनले भने फेरि शुन्यमा झारिदिएको थियो ।

कोरोना संक्रमणको जोखिम मोल्न नचाहने ग्राहकले सार्वजनिक सवारी साधनको साटो निजी सवारीमा आकर्षित हुने धेरैको अपेक्षा थियो । जसका कारण लकडाउनकै बीच पनि दुई पांग्रे सवारीको बिक्रीमा केही सकारात्मक संकेत नदेखिएको होइन । तर, गाडी बिक्रेता कम्पनीको व्यापारमा ‘दशैंको उत्साह’ ल्याउने अपेक्षा गरिए पनि ग्राहकमा त्यो उत्साह देखिएको छैन ।

कारण, राजधानी छाडेका अधिकांश मानिसहरु राजधानी फर्किसकेका छैनन भने रोजगारी र आम्दानीमा भएको कटौतीले गर्दा ग्राहकको क्रय शक्तिमा पनि ह्रास आउनु मानिएको छ ।

विगतका वर्षमा हेर्ने हो भने दशैं र तिहार जस्ता चाडपर्वलाई लक्षित गरी व्यवसायीहरुले ग्राहकको तातेको गोजीलाई लक्षित गरी विभिन्न अफर ल्याउथे । जसले गर्दा निजी सवारी साधन खरिद गर्दाहरु त्यही अफरमा गाडी चढ्ने रहर पूरा गर्थे ।

कोरोना भाइरसको महामारीका कारण हरेक वर्ष धुमधामका साथ राजधानीको भृकुटीमण्डपमा हुने बृहत अटो प्रदर्शनी पनि यसपाली हुन सकेन ।

जसले गर्दा ग्राहकहरु नयाँ गाडीका बारेमा जान्न, बुकिङ गर्ने मौका पाएनन् । अटो मेलामा ग्राहक आकर्षित गर्नका लागि बैंक वित्तीय संस्थाले सस्तो ब्याजदरमा सवारी साधन कर्जा, क्यास छुट र डाउनटाउन पेमेन्टमा पनि ल्याउने अनेकन स्किम पनि यस वर्ष देखिएको छैन ।

अटोमोबाइलस बिक्रेताका अनुसार यस वर्ष गाडी बिक्री ५० प्रतिशतले कमी आइसकेको छ । साथै बजारमा दशैंका लागि नयाँ स्किम ल्याउने वा नल्याउने भन्ने विषयमा अन्योलता समेत छाएको छ । अझ कतिपय कम्पनीले दशैंलाई स्किमका लागि तयारी गरिरहेका छन् भने केहीले दशैंको स्किम सार्वजनिक नगर्ने भएका छन् ।

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा गएकाले हुण्डाई, सुजुकी, महिन्द्रा, टाटा, ड्याटसन÷निसानलगायत विभिन्न गाडीका आधिकारिक बिक्रेता कम्पनीका प्रतिनिधिहरूले अहिलेसम्म दशैंको व्यापारको बारेमा छलफल भइरहेको बताएका छन् ।

सुजुकीको नेपालीको लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैंको माहोलमा व्यापार निकै प्रभाव परेको कम्पनीका बजार प्रबन्धक करुण शाक्यले जानकारी दिए । उनका अनुसार दशैं नजिकिँदै गर्दा बजारमा कुनै उत्साह नभएकाले स्किम ल्याउने वा नल्याउने विषयमा छलफल भइरहेको बताए ।

‘यस क्षेत्रको वर्षभरीको करिब ३० प्रतिशत नाडा अटो शोमा आम्दानी हुन्थ्यो,’ उनले भने, ‘कोरोनाले गर्दा ५० प्रतिशतले गाडी बिक्री घटिसकेको छ । दशैंमा स्किमका लागि बजार अनुगमन गरेर स्किम सार्वजनिक गर्छौ’ उनले भने ।

महिन्द्र गाडीको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडले भने दशैंका लागि कुनै स्किम सार्वजनिक नगर्ने भएका छन् । कोरोना महामारीका कारण विगतको तुलनामा ६० प्रतिशतले गाडीको बिक्रीमा कमी आएसँगै यो दशैंका लागि कुनै स्किम सार्वजनिक नगर्ने कम्पनीका बजार प्रबन्ध सिजन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गत वर्ष नाडा अटो शोको बेलामा मात्रै कम्पनीले करिब ८ सयको हाराहारीका गाडी बिक्री गरेको थियो । तर, यो वर्ष अटो शो हुन नसक्दा धेरै व्यवसाय प्रभावित भएको उनले बताए । कम्पनीले स्किम सार्वजनिक नगरे पनि दशैंको समयमा २० प्रतिशतले बिक्री बढ्न सक्नेमा कम्पनी आशावादी छ ।

हुण्डाई गाडीको नेपालका लागि अधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईका निर्देशक निराकार श्रेष्ठले कोरोनाका कारण दशैंका गाडीको बिक्री कम हुने बताउँछन् । उनका अनुसार विगतको तुलनामा कोरोनाले गर्दा ५० प्रतिशतले कमी आएको बताए ।

‘गत वर्ष अटो शोको समयमा करिब ८ सयसम्म गाडी बिक्री भएको थियो,’ उनले भने, ‘कोरोनाले गर्दा अवस्था कठिन भए पनि बजारलाई चलायमान बनाउनका लागि कम्पनीले दशैंको स्किम ल्याउने तयारी भने गरिरहेको छ ।’

अहिले कोरोना संक्रमणको संख्या बढिरहेको अवस्थामा खुकुलो भएकाले अझै पनि केही समयमा बढ्दै जान सक्ने भएकाले केही हप्तामा नै लकडाउन हुन्छ की भन्ने भएकाले स्किमको बारेमा छलफल मात्र भइरहेको उनले बताए ।

त्यसैगरी टाटा मोटर्सको आधिकारिक बिक्रेताले सिप्रादी ट्रेडिङले बजार हेरेर मात्रै स्किम सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । दशैंको समयमा कमर्सियल र प्यासेन्जर गाडी बिक्री हुने समयमा कोरोनाले गर्दा बजार निकै प्रभावित भएको कम्पनीका बजार प्रबन्धक रुपम श्रेष्ठले जानकारी दिए ।

कोरोनाले मात्रै नभई सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले गर्दा पनि गत वर्षदेखि गाडीको बिक्री ५० प्रतिशत घटेको उनको भनाइ छ । अझ कोरोनाले गर्दा करिब ८० प्रतिशतले बजारमा माग घटेको बताए ।

‘कोरोनाले गर्दा आर्थिक मन्दी शुरु भएको बेला मानिसले सवारी साधन किन्ने कि आफ्नो परिवारको हेर्ने समस्या देखिएकाले गाडी कम किन्न थालेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘कमर्सियल तथा सानो गाडीमा कम्पनीले ६ महिनाको एएमआई होल पे स्किम ल्याए पनि उत्साह भने छैन ।’

तर, बजारमा सोधपुछ गर्ने धेरै मानिस आए पनि सोधपुछ अनुसार बिक्री नभएको उनले बताए ।

त्यसैगरी, ड्याटसनको नेपालको लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पकले लकडाउनका कारण करिब ६० प्रतिशतले गाडीको माग कम आएको कम्पनीका बजार प्रबन्धक श्वेता सिलवालले जानकारी दिइन् । हाल सरकारले लकडाउन खुकुलो बनाएकाले बजार विस्तारै चलायमान बन्न थालेकोे उनको भनाइ छ
सरकारले पहिलो लकडाउन गरेर खुकुलो गर्ने बित्तिकै बजारमा गाडीको बिक्री बढेको थियो ।

कम्पनीले उक्त समयमा करिब १०० भन्दा बढी गाडी बिक्री गरेको कम्पनीले जानकारी दिएको छ । विगतको जस्तै दशैंमा ग्राहकहरूलाई आकर्षित गने स्किम सार्वजनिक गर्ने भएको छ । साथै, यो अवधिमा २÷३ सयसम्म गाडी बिक्री हुने कम्पनीले अनुमान गरेका छन् ।


क्लिकमान्डु