युट्युवबाट कमाएको पैसा नेपालकै बैंक खातामा ल्याउने गरी राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल युट्युवबाट आम्दानी गरेको पैसा अब नेपालकै बैंक खातामा ल्याउने गरी नयाँ व्यवस्था गरेको छ ।

जसअनुसार अब युट्युबमार्फत् कमाएको पैसा नेपालकै बैंक खातामा आउनेछ ।

हाल युट्युवबाट आम्दानी भएको वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् प्राप्त गर्दै आएका छन् । यसप्रकारका आम्दानी नेपाल राष्ट्र बैंकले मान्यता दिँदै अब नेपालकै बैंक खातामा प्राप्त गर्न सकिने गरी बिहीबार सूचना जारी गरेको छ ।

केन्द्रीय बैंकद्वारा जारी सूचानामा भनिएको छ–‘सूचना प्रविधि सम्बद्ध दक्षता तथा विज्ञताको निकासी बिक्रीमा प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक÷व्यापारिक कारोबारवापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुनेछन् ।’

स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था समेतले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

जसका लागि विदेशी बैंकले सम्बन्धित आम्दानी गरिने स्रोतकर्तासँग सम्वन्य गर्छन् र ती विदेशी बैंकसँग नेपालका बैंकहरुले सम्वन्य र आवश्यक प्रक्रिया पूरा गरी नेपाल भित्र्याउने गरी राष्ट्र बैंक व्यवस्था गरेको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए ।

‘कार्डवालाहरुले प्राप्त रकम विदेशी बैंकमा पठाउँछन् ती बैंकहरुले नेपालको बैंकमा तोकिएको सीमामा पठाउँछन् र नेपालका बैंकले आम्दानीकर्ताको खातामा पठाँउछन,’ कार्यकारी निर्देशक कँडेलले क्लिकमाण्डूसँग भने, ‘कानूनको विरुद्धमा गएर भने कमाउन पाइँदैन तर कानून सम्मत् आफ्नो मेहनतले कमाइ गरेको भएमा त्यसलाई प्राप्त गर्न राष्ट्र बैंकले सहजिकरण गरिदिएको हो ।’

यसरी विदेशी स्रोतबाट गरिएको आम्दानीको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले आम्दानीको विवरण भने हरेक महिना राष्ट्र बैंकमा पठाउनु पर्नेछ ।

विदेशी स्रोतमार्फत् गरिएको आम्दानीको भुक्तानी कारोबारका लागि सम्पत्ति शुद्घिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु