लामो दुरीको सार्वजनिक यातायात संचालनमा, दशैंको अग्रिम टिकट बुकिङमा अन्यौलता



काठमाडौं । सार्वजनिक यातायातमा सबैभन्दा बढी आम्दानी हुने दशैंमा अघिल्लो वर्षजस्तो उत्साह यातायात व्यवसायीमा देखिएको छैन ।
कोरोना महामारीका कारण ६ महिना ग्यारेज र घरमा थन्केर बसेका गाडी यातायात व्यवसायीले आजबाट सबै खालको सवारी साधन चलाउने भएका छन् ।

तर, नेपालीहरूको महान चाड पर्व नजिकिँदै गर्दा दशैंको लागि अग्रिम बुकिङ खुलाउने वा नखुलाउने भन्ने विषयमा अन्योलता छाएको छ ।

सामान्य अवस्था हुँदो हो त यो बेला दशैंका लागि व्यवसायीले यात्रुहरूको सहजताका लागि गाडीहरूको तयारी गर्दै हुन्थ्यो । दशैंको लागि नै भनेर कतिपय व्यवसायीले नयाँ गाडी सञ्चालनमा ल्याउने र छलफल अगाडि बढाएको हुन्थ्यो ।

त्यसैगरी, कुन क्षेत्रमा कति गाडी खुलाउने तथा कति गतेदेखि उपत्यका बाहिरका लागि अग्रिम बुकिङ खुलाउने भन्ने विषयमा छलफल हुने थियो । साथै, कति नेपाली बाहिरिन्छन् भन्ने विषयमा व्यवसायीहरूमा बहस शुरु हुन्थ्यो ।

सामान्य अवस्थामा दशैं आउनुभन्दा एक महिना अगाडिदेखि नै व्यवसायीहरू तथा सर्वसाधारणहरूमा घर जान पाउने हेतुले छुट्टै रौनक छाउँथ्यो । तर, यो वर्ष कोरोनाका कारण अधिकांश व्यवसायीमा निराशा छाएको छ ।

सरकारले लकडाउन र निषेधाज्ञाले गर्दा करिब ६ महिना पूर्ण रूपमा बन्द भएसँगै करिब १० लाख मानिस बेरोजगार भएका थिए । उक्त १० लाख मानिसहरूबाट करिब ४५ लाख आश्रित परिवार प्रभावित भएको यातायात राष्ट्रिय व्यवसायी संघले जनाएको छ । जसले गर्दा यातायात व्यवसायी महासंघ र यातायातसम्बद्ध तिन वटै टे«ेड युनियनले सरकारसँगको विभिन्न वार्ता तथा आन्दोलन गरेर आजबाट सवारीसाधन चलाउन सफल भएका छन् ।

दशैंको अग्रिम टिकट खुलाउनेबारे अन्योलता

विगतको वर्षहरूमा सर्वसाधारणहरूले टिकट लिनको लागि नै २,३ बजे उठेर बसपार्क पुगेर लामबद्ध लाइन बसी टिकट लिने गर्दथ्यो । तर, यो वर्ष कोरोनाले गर्दा दशैंको लागि अग्रिम टिकट बुकिङ खुलाउने वा नखुलाउने भन्ने विषयमा अन्योलता छाएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए ।

कोरोनाका कारण सामाजिक दुरी कायम गर्ने र २५ जनाभन्दा बढी मानिसलाई भेला हुन नदिने नियमले पनि धेरै समस्या भएको उनले बताए ।

‘कोरोना रोकथाम तथा नियन्त्रणको लागि लागु गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण अधिकांश मानिसले उपत्यका छाडेका छन्,’ उनले भने,’ ‘यसले गर्दा महासंघले उपत्यकामा कति मानिस छन् र कति सवारी साधनको आवश्यकता हुन्छ भन्ने अनुमान गर्न सकेका छैनन् ।’

उनका अनुसार लकडाउनले गर्दा कतिपय मानिस आफ्नो व्यवसाय र जागिरका कारण उपत्यका फर्के भने कतिपय मानिस गृहजिल्ला गएर उपत्यकामा नफर्केको बताए ।

यसले गर्दा विगतको जस्तो दशैंमा घर जाने मानिसको भिड नहुने महासंघका अध्यक्ष कर्माचार्यले अनुमान लगाएका छन् ।

गत वर्ष दशैंको बेला करिब २० लाख मानिस बाहिरिएको महासंघले अनुमान गरेको थियो । तर, कोरोना महामारीले निम्त्याएको समस्याले गर्दा यो वर्ष ५ लाख मानिस पनि नबाहिरिने उनको भनाइ छ ।

यसले गर्दा विगतको जस्तो टिकटमा समस्या नभई सिधै जान पाउने सक्ने उनको बुझाइ छ । साथै, अब एक, दुई हप्ताको सवारी साधनको गतिविधि नियालेर अग्रिम टिकटबारे व्यवसायी तथा मजदुरसँग छलफल गरी मात्रै निर्णय लिने उनले जानकारी दिए ।


क्लिकमान्डु