कोरोनाका कारण वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प   



फाइल तस्बिर

काठमाडाैं । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण शुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण शुरु हुने अवस्थामा छैनन् ।

बुटवल-पोखरा सडक विस्तार, नागढुङ्गा मुग्लिन सडक र सोही स्थानमा त्रिशूली पारिपट्टि बनाइँदै गरेको सडक, गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेसी सडकलगायत आयोजनमा यसको प्रभाव देखिएको छ । यीमध्ये कतिपयमा निर्माण ठप्प र कतिपय कछुवा गतिमा अघि बढेको सडक विभागका सहायकता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

‘सबै योजनामा यथास्थितिमा नै निर्माण ठप्प छ,’ उनले भने, ‘काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न योजनामा वैदेशिक लगानी सुनिश्चित भए पनि कोभिड-१९ कै कारण अघि बढ्न नसकेको हो ।’

चक्रपथको पहिलो चरणका रुपमा कोटेश्वर–कलङ्की सडक निर्माण गरेको चीन सरकारले दोस्रो खण्डको पनि बिस्तार गर्ने योजना छ । निर्माणस्थल खाली भइसके पनि चिनियाँ टोली आइसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटी र नयाँ बानेश्वर चोकमा फ्लाई ओभर निर्माण गर्ने गरी छलफल भएको थियो ।

विगतका वर्षदेखि नै जाइकाले सो स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्न चाहेको थियो । तत्काल कुनै पनि योजना अघि बढ्ने अवस्था नभएको प्रमुख थापाले बताए ।

उनले अवस्था सामान्य नहुँदासम्म उनीहरु आएर काम शुरु अवस्था नरहेको बताए ।


क्लिकमान्डु