फास्ट ट्रयाकको कामलाई गति दिइदैं, सेनाले गर्यो यस्तो तयारी
काठमाडौं । कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई/मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ ।
निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
आयोजनाका लागि छनोट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको टोली प्रमुख र स्थानीय विषय विज्ञसमेतको टोलीले स्थलगत सर्भेको काम शुरु भएको छ । कोभिड–१९ कारण पूरै टोली परिचालन हुन बाधा पुगे पनि थोरै जनशक्ति प्रयोगबाट अधिक काम भइरहेको जानकारी दिइएको छ ।
सेनाका अनुसार महादेवटार, धेद्रे र लेनडाँडामा निर्माण गर्नुपर्ने सुरुङका लागि भू–गर्भसम्बन्धी अध्ययन पूरा गरी प्रतिवेदन तयारीको काम भइरहेको छ । त्यहाँ अहिले सुरुङका लागि ड्रिलिङ गरी नमूना परीक्षणको काम भइरहेको जानकारी दिइएको छ ।
आयोजनालाई दू्रतगतिमा अघि बढाउन पहुँच मार्ग र बेलीब्रिज जडानको काम भइरहेको तथा सुरुङमार्गको ठेक्का व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय निर्माण व्यवसायीसँग पूर्व योग्यता निर्धारणका लागि सूचना प्रकाशित गरिएको छ ।
आयोजनाका अनुसार निर्माणमा सहभागी हुन चाहने कम्पनीले आगामी असोज १४ गतेभित्र योग्यतासम्बन्धी काजजात बुझाउनु पर्नेछ ।
आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको तथा वातावरणसम्बन्धी गहिरो अध्ययन अनुसन्धानको आन्तरिक मूल्याङ्कन प्रभावको पूर्वतयारीको काम भइरहेको छ ।
आयोजनालाई अघि बढाउने सिलसिलामा चार किलोमिटर क्षेत्रको ढुङ्गा र माटो हटाउन र भर्न प्रतिस्पर्धाबाट १२ वटा प्याकेज बनाएर काम अघि बढाएको जनाइएको छ ।
आयोजना क्षेत्रमा कटान गर्न बाँकी रहेका १ हजार १५० कटान गर्न बाँकी रहेकामा अब केही दिनमै काम शुरु गरिने तथा कटान भएका रुखको अनुपातमा रोप्नुपर्ने १ लाख सात हजार ११८ वृक्षरोपण गरिसकिएको आयोजनाले जनाएको छ ।
आयोजनाका लागि मकवानपुरमा ९९ रोपनी जग्गा अधिकरण गर्न पूर्जा तयार भएको तथा मुआब्जाकोे वितरण प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ ।