नेप्सेले अर्थमन्त्रालय पुगेर भन्यो- टीएमएसको समस्या समाधान गर्छौ



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन (टीएमएस)मा दैनकजसो समस्या देखिएपिछ अर्थमन्त्रालयमा भएको छलफलमा अहिले देखिएको समस्या तत्काल समाधान गर्ने गरी टुंगिएको छ ।

दैनकरुपमा अनलाइन प्रणालीमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई सेबोन र नेप्सेलाई बोलाएर छलफल गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री कार्यालयको निर्देशन पनि भएको छलफलमा अहिले टिएमएस र अनलाइन प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्ने निर्णयसहित टुंगिएको हो ।

छलफलका क्रममा नेप्सेका अधिकारीले अहिले केही फरक खालको समस्या देखिएको र त्यो समस्या समाधानका लागि काम भइरहेको जानकारी गराएको छ ।

छोटो समय भएको छलफलमा राजस्व सचिव रामशरण पुडासैनीले धितोपत्र बोर्ड र नेप्सेलाई आवश्यक समन्वय गरेर काम गर्न आग्रह गरेका छन् ।

उनले सिस्टममा भार बढेको हो भने हार्डवयर, सफ्टवेयरको क्षमता बढाउन पनि आग्रह गरेका छन् ।

छलफलमा धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले नेप्सेको कुनै पनि सिस्टममा यस्तो समस्या आउन नहुने र बारम्बार समस्या आउँदा लगानीकर्ताले धेरै नै गुनासो गर्ने गरेको बताए ।

छलफलमा मन्त्रालय र बोर्डले अबको दिनमा नेप्सेले क्षमता बढाउने, हार्डवेयर र सफ्टवेयरमा समस्या हो भने समाधानका लागि काम गर्नुपर्ने, त्यसको क्षमता बढाउन लाग्नु गर्ने, दक्ष कर्मचारी व्यवस्थापन गर्न सुझाव दिएका छन् ।


क्लिकमान्डु