भैरहवास्थित टाइगर प्यालेस रिसोर्टले निकाल्यो ४२३ जना कर्मचारी



काठमाडौं । भैरहवास्थित सिल्भर हेरिटेज ग्रुप सञ्चालक रहेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टले बुधबार ४२३ जना कर्मचारी निकालेको छ ।

सिल्भर हेरिटेज टाइगर प्यालेस रिसोर्ट कर्मचारी युनियनका अध्यक्ष रोशन गुरुङका अनुसार काठमाडौं र भैरहवामा कार्यरत करिब ४२३ जनालाई बुधबार इमेल गरी कामबाट निकालिएको जानकारी दिएको हो ।

उनका अनुसार कम्पनीले भैरहवामा कार्यरत ३९३ जना र काठमाडौंमा कार्यरत करिब ३० जना कर्मचारीलाई कामबाट निकालिएको इमेल पठाएको थियो ।

गुरुङले कम्पनीले श्रमिक कानून विपरीत कर्मचारी निकालेको आरोप लगाए ।

कम्पनीले भने कोरोनाका कारण व्यवसाय प्रभावित भएकाले खर्च धान्न नसकिएको भन्दै कर्मचारी निकालेको जानकारी दिएको छ ।

यसअघि साउनको पहिलो साता होटल एसोसिएसन नेपाल (हान)ले व्यवसाय नभएको अवस्थामा पनि कर्मचारीलाई न्यूनतम तलब दिने सहमति गरेको थियो ।

जसअनुसार पाँच तारे होटलका कर्मचारीले न्यूनतम १० हजार रुपैयाँ पारिश्रमिक पाउने सहमति भएको थियो । उक्त सहमति बमोजिम होटलले कर्मचारीसँग सम्झौता गरेको थिएन ।

श्रम ऐन-२०७४ को दफा १४५ (५) मा श्रमिकको संख्या कटौती गर्न सबैभन्दा शुरुमा विदेशी श्रमिक निकाल्नु पर्ने व्यवस्था छ ।

तर, विदेशी श्रमिक ननिकाली कम्पनीले नेपाली कर्मचारीहरुलाई शुरुमा निकालेको गुरुङको आरोप छ ।

हाल कम्पनीमा १२ जना विदेशी कर्मचारी कार्यरत छन् । उनीहरुको पारिश्रमिक पनि निकै धेरै छ ।

गुरुङका अनुसार नेपाली कर्मचारीको तुलनामा विदेशी कर्मचारीहरुको तलब ५० गुणा बढीसम्म छ ।

गुरुङका अनुसार कोरोनाको महामारी शुरु भएसँगै होटल र कर्मचारी युनियनबीच सम्झौता भएको थियो ।

जसअनुुसार सबै कर्मचारीको ग्रस स्यालरीको ५० प्रतिशत रकम उपलब्ध गराउने सम्झौता भएको थियो । सोही अनुसारले कम्पनीले असार महिनासम्मको सम्झौता बमोजिमको ५० प्रतिशतले हुन आउने पारिश्रमिक दिएको थियो ।

तर साउन महिनादेखि कुनै पनि कर्मचारीको तलब दिएको छैन ।

तत्कालिन समयमा सम्झौता हुँदा २ महिनापछि फेरि लकडाउन भयो भने अर्को बैठक बसेर थप निर्णय गर्ने सहमति समेत गरिएको थियो ।

तर, होटल व्यवस्थापकहरुले सम्झौता विपरीत बैठक नै नबसी कर्मचारी निकालेको गुरुङको भनाइ छ ।

हाल निकालिएका कर्मचारीहरु २ वर्षे करारमा कार्यरत थिए । जसको करार अवधि ९ महिना अगाडि नै सकिएको थियो । तर उनीहरुलाई तत्कालिन समयमा निकालिएको थिएन । कम्पनीले हाल आएर बिना कुनै पूर्व सूचना कर्मचारीलाई निकालेको छ ।

गुरुङका अनुसार करारमा काम गरिरहेका एक सयभन्दा बढी कर्मचारीहरुको करार अवधि आगामी सेप्टेम्बर २५ तारिखमा सकिँदैछ । कम्पनीले त्यसपछि ती कर्मचारीलाई पनि निकाल्ने तयारी गरेको उनले बताए ।

श्रम ऐनमा कुनै कर्मचार कटौती गर्नु परेमा ३० दिन अगावै कटौती गर्नुपर्ने कारण, कटौती हुने सम्भावित मिति र कटौतीमा पर्ने सम्भावित श्रमिकको संख्या खुलाइ रोजगारदाताले कार्यालय र प्रतिष्ठानस्तरको आधिकारिक ट्रेड युनियन भएमा त्यस्तो युनियन र नभएमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियन वा श्रमि सम्बन्ध समितिलाई सूचना दिनुपर्ने उल्लेख छ ।

तर कम्पनीले भने बिना कुनै पूर्व सूचना कर्मचारी निकालेको गुरुङले जानकारी दिए ।

हाल कम्पनीमा १ हजार ३१ जना कर्मचारी कार्यरत छन् । जसमध्ये भैरहवामा ६५० र काठमाडौंमा ३८१ जना कर्मचारी कार्यरत छन् ।

श्रम ऐन २०७४ मा यस्तो छ व्यवस्था
१४५ (५) यस दफा बमोजिम श्रमिकको संख्या कटौती गर्नु पर्दा सामान्यतयाः देहायको क्रमले गर्नु पर्नेछ । (क) विदेशी श्रमिक (ख) खराब आचरणमा तुलनात्मक रुपमा बढी सजाए पाएको श्रमिक (ग) कार्य सम्पादन स्तर कमजोर रहेको श्रमिक (घ) एकै किमिसको काममा कार्यरत श्रमिकहरु मध्ये त्यस्तो काममा सबैभन्दा पछि नियुक्त भएको श्रमिक । तर सबैभन्दा पछि नियुक्त भएकालाई कटौती गर्नु पर्ने गरी तोकिएको क्रम अनुसार कटौती नगरी अगाडि नियुक्त भएकालाई कटौती गर्नु परेमा कारण खोली कटौती गर्न सकिनेछ ।


क्लिकमान्डु