चीनको सहयोगमा निर्मित दरबार हाइस्कूलको भवन हस्तान्तरण   



काठमाडाैं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड-१९ का कारण ढिलो भएको हो ।

आज यहाँ चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरेका हुन् । उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुबै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको हो।

काठमाडौं महानगरपालिका-२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो । ८५ करोड रूपैयाँको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ ।

दरबार हाईस्कूलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सञ्चालन हुँदै आएको छ । दुबै विद्यालय अलगअलग व्यवस्थापनमा सञ्चालनमा छन् । हाल ती दुबै विद्यालयमा गरी ३५० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन् ।

भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड-१९ का कारण हस्तान्तरण हुन नसकेको बताए ।

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो ।

विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्नका लागि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरेका थिए । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ ।

शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् ।

लामो समय काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो । निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर पनि दिएको बताइएको छ ।


क्लिकमान्डु