नीति तथा कार्यक्रम पछ्याउँदै सेबोन, आधिकारिक प्रतिनिधि कसरी आउला ?
काठमाडौं । धितोपत्र बोर्डले आफ्नो काम कारबाहीलाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार शुरु गरेको छ ।
बोर्डले आफूले ल्याएको नीति तथा कार्यक्रम त्यही आर्थिक वर्षमा सम्पन्न गर्नका लागि आवको शुरुदेखि नै कार्यान्वयनको तहबाट काम कारबाही शुरु गर्न लागेको हो ।
बोर्डको नीति तथा कार्यक्रममा बुक बिल्डिङ सम्बन्धि निर्देशिका ल्याउने भनेको थियो । त्यो निर्देशिका ल्याएर कार्यान्वयन शुरु गरेको बोर्डका सह प्रवक्ता रुपेश केसीले बताए ।
उनका अनुसार योग्य संस्थाका लगानीकर्ताहरुको लागि बोर्डको स्विकृती लिनका आग्रह गर्दै सूचना जारी गरेको उनको दाबी छ ।
बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा केन्द्रिकृत ग्राहक पहिचान विवरण (सी–केवाइसी) सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका कार्यान्वयनमा ल्याउने भनेको थियो । त्यसको मस्यौदामा के विषय राख्ने के नराख्ने भनेर सरोकारवाला निकायलाई राय सुझाव समेत माग गरिएको केसीको भनाइ छ ।
बोर्ड आफूले दैनिक रुपमा गर्ने कामलाई निरन्तरता दिँदै बोर्डको नीति तथा कार्यक्रममा भएका कामलाई पनि कार्यान्वयनको चरणमा समयमा नै ल्याउने लागि रहेको उनको दाबी छ ।
लामो समयदेखि धितोपत्र दलाल व्यवसायीहरुले आधिकारिक प्रतिनिधिको विषय उठाउँदै आएका छन् । ब्रोकरहरुले तत्काल आधिकारिक प्रतिनिधि दिन माग गर्दै आएका छन् ।
त्यसका लागि पनि धितोपत्र बोर्डले आन्तरिकरुपमा काम शुरु गरेको जनाएको छ ।
बोर्ड निकट स्रोतका अनुसार आधिकारिक प्रतिनिधिलाई आगामी दिनमा बजारको शिक्षा, तालिममा सहभागी गराउन सकिन्छ की, सेयर बजारमा कारोबार यसरी गर्न सकिन्छ भनेर सचेतना जगाउन सकिन्छ वा अन्य कुन मोडलमा जान सकिन्छ भन्नेमा बोर्डले आन्तरिक अध्ययन शुरु गरेको स्रोतको भनाइ छ ।