कोटेश्वर-जडिबुटीको जाम हटाउन सडक बिस्तारको काम शुरु, ४ लेनको सडक ८ लेन बनाइँदै



काठमाडौं । कोटेश्वर–जडिबुटीमा अत्यधिक जामको समस्या समाधान गर्नका लागि ४ लेनको सडक बिस्तार गरी ८ लेन बनाउनका लागि काम शुरु गरिएको छ ।

सोमबार भौतिक योजना तथा यातायातमन्त्री वसन्त नेम्वाङले सोमबारदेखि काम शुरु भइसकेको क्लिकमाण्डूलाई जानकारी दिए ।

उनका अनुसार उक्त सडक खण्डमा कोटेश्वरबाट जडिबुटी जाँदा दायाँपट्टी एकतर्फ सडक बिस्तार गरिनेछ । हाल नेपाली सेनाले तारबार गरेको जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र एकसाताभित्रै टेन्डर पनि हुने उनले जानकारी दिए ।

‘विमानस्थलको जग्गा र एकजना व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ, अहिले डोजर चलाउन शुरु गरिएको छ । निर्माणका लागि एक साताभित्रमा टेन्डर समेत आह्वान गर्छौ,’ मन्त्री नेम्वाङले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको ७ रोपनी जग्गा र एक जना व्यक्तिको नाममा रहेको एक आना जग्गा अधिग्रहण भइसकेको छ । नेम्वाङका अनुसार उक्त सडक खण्डमा चार लेन थप गर्नका लागि १२ करोड रुपैयाँ खर्च लाग्नेछ ।

सडक लेन बिस्तार गर्नका लागि विमानस्थलको रनवे सूचक लाइट पनि केही पर सारिएको छ ।

उक्त सडक खण्डमा भइरहेको जाम कम गर्नका लागि सरकारले तीनकुनेदेखि जडिबुटीसम्म सुरुङ बनाउने काम अगाडि बढाइसकेको छ । सुरुङ निर्माणको अध्ययन गरिरहेको जाइकासँग छलफल गरी सडक ८ लेन बनाउने काम अगाडि बढाइएको हो ।

‘सुरुङ निर्माणको काम सकिन अझै ३ वर्षसम्म लाग्न सक्छ, त्योभन्दा अगाडि अल्पकालीन समस्या समाधानका लागि सडक बिस्तारको काम अगाडि बढाएका हौं,’ उनले भने ।

उनका अनुसार असोज र कात्तिकसम्म सबै प्रक्रिया पूरा गरेर चैतसम्म सबै काम सक्ने गरी काम अगाडि बढाइएको छ ।

‘यो हिउँदसम्म सबै काम सकिन्छ, चैतसम्म सबै काम सकिन्छ,’ उनले भने ।


क्लिकमान्डु