पूर्व-पश्चिम विद्युतिय रेलमार्गको इनरुवा–बद्रिबास खण्डको निर्माण गर्न रसियालाई आग्रह



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभलेसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा मन्त्री नेम्वाङ्गले पूर्व–पश्चिम विद्युतिय रेलमार्गको कम्तिमा पनि इनरुवा–बद्र्रिवास खण्डको निर्माणमा लगानीसहितको सहकार्य गर्ने बारे छलफल गरेका छन् ।

करिब ४ खर्ब ५ अर्ब रुपैयाँ लाग्ने ७२ किलोमिटर लम्बाई रहेको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्यका सम्बन्धमा छलफल भएको छ ।

उक्त मेट्रो प्रोजेक्टको पाँच खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानीसहित सहभागी हुन गरिएको प्रस्तावमा राजदुत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफु उत्साहित रहेको र रसियन सरकारसंग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भेटमा रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्ट बारे समेत छलफल भएको छ ।


क्लिकमान्डु