नबिल बैंकमा एनबी इन्टरनेशनलको लगानी: किन बारम्बार खोजिन्छ स्रोत ?



काठमाडौं । राज्यका विभिन्न निकायले २६ वर्षदेखि एउटै विषयको अनुसन्धान गरिरहेका छन् । त्यो हो नेपालको निजी क्षेत्रको ठूलो बैंक नबिल बैंकमा अर्बपति व्यवसायी बिनोद चौधरीको लगानी ।

नेपाल अरब बैंकमा युएइको लगानी फिर्ता जाने भएपछि त्यसको सेयर बिनोद चौधरीले कसरी किन्न सफल भए अब नयाँ कुरा होइन ।

चौधरीले आफ्नो आत्मकथामा लेखेका छन्, ‘नबिल बैंकको सेयर किन्नका लागि मैले घुमाउरो बाटो प्रयोग गरेको हो, यहाँको सिस्टमको कारण घुमाउरो बाटो हिँड्नु परेको हो ।’

नविल बैंकका सबैभन्दा ठूलो मालिक ‘मिन्टो’ को हुन् ? यस्तो छ विनोद चौधरीसँगको कनेक्सन

नबिल बैंकमा रहेको एनबी इन्टरनेशनलको लगानीको विषयमा अन्तिम लाभग्राहीको विवरण माग गर्दै राष्ट्र बैंकले धेरै पटक पत्राचार गर्यो । तर, नतिजा भने शुन्य । यो पटक पुनः राष्ट्र बैंकले नबिल बैंकमा ५० प्रतिशत सेयर स्वामित्व रहेको एनबी इन्टरनेशनलको सेयरधनीको विवरण मागेको छ । यो विवरण नबिल बैंकले अघिल्लो वर्ष नै बुझाएको थियो ।

यो पटक फेरि राष्ट्र बैंकले एनबी इन्टरनेशनबाट चौधरी परिवारले कति रकम भित्र्याएको छ भनेर विवरण मागेको छ । गभर्नर महाप्रसाद अधिकारीको सक्रियतामा फेरि विवरण माग गरिएको हो ।

हरेक पटक विवरण माग्ने र कुनै निष्कर्ष निकाल्न नसक्ने काम नियामक गर्दा लगानीकर्ताले दुःख मात्रै पाउने अवस्था सिर्जना भएको छ ।

बिनोद चौधरीले आत्मकथामार्फत् नै नबिल बैंकमा घुमाएर लगानी गरेर भनेर लेखेपछि यो विषय पछिल्ला वर्षहरुमा चर्चित भयो ।

अख्तियारमा लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले नबिल बैंकमा भएको लगानीको विषयमा अनुसन्धान थालेको थिए ।

२०७० सालमा एनबी इन्टरनेशनलको नाममा भएको लाभांश लैजान राष्ट्र बैंकले रोकेको थियो । पछि राष्ट्र बैंकले स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकबाट अवकास प्राप्त एक उच्च कर्मचारी एनबी इन्टरनेशनको लगानीको छानबिनमा विगतदेखि नै हल्लामात्र बढी हुने गरेको बताउँछन् ।

‘२६ वर्षदेखि लाभांश लैजान पनि दिने छानबिन पनि गर्ने मात्रभन्दा हाम्रो प्रणालीमा समस्या भएको देखिन्छ, यसमा बिनोद चौधरीको भन्दा पनि दोष हाम्रै छ,’ ती अधिकारीले भने ।

पछिल्लो समय ओली सरकार र बिनोद चौधरीबीच सम्बन्ध राम्रो छैन । कुनैबेला एमालेबाट सांसद् बनेका चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचन अगाडि नेपाली कांग्रेस प्रवेश गरेर सांसद् छन् । कांग्रेसको पछिल्लो समय पार्टी राजनीतिमा नै बढी सक्रिय हुने संकेत चौधरीले गरेका छन् ।

चौधरीले ल्याउन लागेको मोबाइल सेवाको लाइसेन्स नदिएपछि चौधरी ग्रुप र तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाबीच वाकयुद्व नै चलेको थियो ।

७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि सामाजिक संजालमा बाँस्कोटाले चौधरीको एनबी इन्टरनेशनल गरेको लगानी छानबिन गर्नुपर्ने माग गर्दै आएका छन् ।

‘चौधरीसँग सरकार र शक्तिमा बसेका व्यक्तिको सम्बन्ध नराम्रो हुँदा छानबिन गर्न खोज्ने पछि सेलाउने विषय एनबी इन्टरनेशनलको छानबिनले देखिन्छ, लोकमानको समयमा पनि उनीसँग सम्बन्ध बिग्रेपछि यसको छानबिन गर्ने भनियो पछि हरायो,’ राष्ट्र बैंकका ती अधिकृतले भने ।

राष्ट्र बैंकले विगतमा गरेको छानबिनले पनि एनबी इन्टरनेशनलमार्फत् चौधरीले गरेको लगानीलाई गैरकानूनी भन्न सकेको छैन । त्यही आधारमा नै राष्ट्र बैंकले एनबी इन्टरनेशनको लाभांश स्वीकृति दिने गरेको छ ।

राष्ट्र बैंकले बीचमा निर्देशिका मार्फत् बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी विदेशी बैंक तथा वित्तीय संस्थाको मात्र हुनुपर्ने व्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा पनि सो प्रावधान राखे पनि त्यो पास भएन ।

एनबी इन्टरनेशनमामा कसको कति सेयर छ ?

क्लिकमाण्डूले एकवर्ष अगाडि नै एनबी इन्टरनेशनलमा भएको अन्तिम हितग्राहीको विवरण सार्वजनिक गरेको थियो ।

एनबी इन्टरनेशनको ५१ प्रतिशत सेयर स्वामित्व पनामामा दर्ता भएको साउथ एशिया फाइनान्सिय कर्पोरेशनको नाममा छ । यसको सेयरधनी बंगलादेशी व्यवसायी अब्दुल अवाल मिन्टु हुन् । ४९ प्रतिशत सेयर स्वामित्व सिनोभेसन सिंगापुरको नाममा छ । जसको ९९.५ प्रतिशत सेयर बिनोद चौधरीका छोरा राहुल र वरुण चौधरीको नाममा छ । उनीहरु कानूनीमा गैरआवासीय नेपालीमा पर्ने कुरा बिनोद चौधरी आफैले आत्मकथामा स्वीकार गरेका छन् । ०.५ प्रतिशत सेयर बिनोद चौधरीको नाममा छ ।

यसबाहेक चौधरी परिवारको नाममा बैंकमा निर्वाण चौधरीको नाममा ०.८९ प्रतिशत सेयर छ । निर्वाण अहिले नबिल बैंकमा संचालक समिति सदस्य छन् । यस्तै वरुण चौधरीको नाममा ०.८५ प्रतिशत,राहुल चौधरीको नाममा ०.५९ प्रतिशत सेयर छ । बिनोदकी श्रीमती सारिका चौधरीको नाममा ०.७८ प्रतिशत सेयर स्वामित्व रहेको नबिल बैंकको वार्षिक विवरणमा देखिन्छ ।

नबिल बैंक निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा पर्छ । गत वर्षको नाफाबाट वाणिज्य बैंकहरुमा सबैभन्दा बढी कर नबिल बैंकले तिरेको थियो ।

सेयरधनीलाई आकर्षक लाभांश दिने बैंकमा नबिल बैंक पर्ने गर्छ । नबिल बैंकले गतवर्ष ३ अर्ब ५६ करोड नाफा गरेको थियो । गत वर्षको नाफाबाट नबिल बैंकले ३० प्रतिशत लाभांश दिने क्षमता राख्छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो ।


पुष्प दुलाल