नविल बैंकका सबैभन्दा ठूलो मालिक ‘मिन्टो’ को हुन् ? यस्तो छ विनोद चौधरीसँगको कनेक्सन



काठमाडौं । धेरैलाई लाग्न सक्छ नविल बैंक विनोद चौधरीको हो । चौधरी नै नविलको सबैभन्दा धेरै सेयर भएका व्यक्ति हुन् ।

तर, वास्तविकता भने फरक छ । व्यक्तिगतरुपमा हेर्ने हो भने विनोद चौधरीको नविल बैंकमा ०.२२ प्रतिशत सेयर स्वामित्व छ । परिवारको समेत जोड्दा भने नविल बैंकमा चौधरी समूहको ठूलो मात्रामा सेयर छ ।

व्यक्तिगतरुपमा नविल बैंकका सबैभन्दा ठूलो मालिक अब्दुल अवाल मिन्टो हुन् । मिन्टोले गतवर्ष नबिल बैंकबाट ४५ करोड नगद लाभांश बुझे ।

मिन्टोको नबिल बैंकमा २५.५ प्रतिशत सेयर छ । नबिल बैंकको चुक्ता पूँजी अहिले ९ अर्ब ४८ लाख रुपैयाँ छ । यसरी हेर्दा सूचिकृत सेयर ९ करोड ४८ हजार कित्ता छ । बैंकमा मिन्टोको नाममा २ करोड २९ लाख ६२ हजार २४० कित्ता सेयर छ ।

 नविल बैंकले राष्ट्र बैंकमा बुझाएको उक्त विवरण क्लिकमाण्डूलाई प्राप्त भएको छ । जुन विवरण अनुसार व्यक्तिगतरुपमा अब्दुल मिन्टो सबैभन्दा ठूलो सेयरधनी देखिन्छन् ।

नबिल बैंकमा सबैभन्दा बढी सेयर एनबी इन्टरनेशनलको नाममा छ । एनबी इन्टरनेशनलको बैंकमा ५० प्रतिशत छ ।

तत्कालिन नेपाल अरब बैंकलाई नेपालका एकमात्र अर्बपति तथा अहिले नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका बिनोद चौधरीले कसरी खरिद गरेका थिए त्यसको जानकारी आफ्नो आत्मकथामार्फत खुलासा गरिसकेका छन् ।

चौधरीले आत्मकथामा लेखेका छन्, ‘नेपाल अरब बैंकको सेयर किन्न ‘घुमाउरो बाटो प्रयोग गर्यो भनेर विरोधीहरुले लगाएका आरोप शतप्रतिशत गलत थिएन । मलाई घुमाउरो बाटो हिंड्न बाध्य पारेको यहाँको ‘सिस्टम’ले नै हो । कहिलेकाहीं सही काम गर्न ऐन र नियम अपुरो छ वा बाधक छ भने तीनलाई पछाडि छोड्नु नै उद्यमीको साहसको परिचय हो ।’

चौधरीले आत्मकथामार्फत विदेशमा लगानी गरेको स्वीकार गरेपछि नबिल बैंकबाट प्राप्त गरेको लाभांश एनबी इन्टरनेशनललाई लैजान रोक समेत लागेको थियो ।

घुमाएर नबिल बैंकमा मिन्टोको नाममा २५.५ प्रतिशत सेयर छ । जसको बजार भ्यालूएसन आजका दिनमा १८ अर्ब रुपैयाँ हुन्छ ।

त्यो लाभांश रोक्का भने २ वर्षलाई मात्र भयो । राष्ट्र बैंकले त्यसपछि एनबी इन्टरनेशनलको सेयरधनी र अन्तिम हितग्राहीको विवरण मागेको थियो ।

धेरैलालाई लागेको थियो एनबी इन्टरनेशनलमा भएको अधिकांश सेयर चौधरीको हो । तर, कानूनीरुपमा हेर्दा त्यस्तो देखिँदैन । एनबी इन्टरनेशनलको ४९ प्रतिशत सेयर मात्रै चौधरी परिवारका नाममा छ ।

नबिल बैंकले राष्ट्र बैंकलाई एनबी इन्टरनेशनलको सेयरधनी र अन्तिम हितग्राहीको विवरण पठाएको थियो । नविल बैंकले राष्ट्र बैंकमा बुझाएको उक्त विवरण क्लिकमाण्डूलाई प्राप्त भएको छ । जुन विवरण अनुसार व्यक्तिगतरुपमा अब्दुल मिन्टो सबैभन्दा ठूलो सेयरधनी देखिन्छन् ।

नेपालको सेयर बजारमा वाणिज्य बैंकमा सबैभन्दा बढी सेयर मूल्य रहेको नबिल बैंक नाफाको आधारमा दोस्रो बढी कमाउने बैंकमा पर्छ ।

नबिल बैंकका अनुसार बैंकको सबैभन्दा ठूलो सेयरधनी एनबी इन्टरनेशनल हो । जसको नाममा नबिल बैंकमा ५० प्रतिशत सेयर स्वामित्व छ । यसबाहेक नबिल बैंकका ठूला सेयरधनीमा राष्ट्रिय बीमा कम्पनीको नाममा ९.६७ प्रतिशत सेयर छ ।

त्यसैगरी, अर्जुन बन्धु रेग्मीको १.४३ प्रतिशत, निर्वाणाकुमार चौधरीको नाममा ०.८९ प्रतिशत सेयर स्वामित्व छ । यस्तै वरुण चौधरीको नाममा ०.८५ प्रतिशत, सारिका चौधरीको नाममा ०.७८ प्रतिशत, नेपाल ट्रष्टको नाममा ०.५९ प्रतिशत तथा राहुल चौधरी ०.५९ प्रतिशत र एलआईसी नेपालको नाममा ०.५४ प्रतिशत सेयर छ ।

जसमा निर्वाणा, राहुल, वरुण बिनोद चौधरीका छोरा हुन् भने सारिका श्रीमती हुन् ।

एनबी इन्टरनेशनल आयरल्याण्डमा दर्ता भएको कम्पनी हो । एनबी इन्टरनेशनल कम्पनीको शतप्रतिशत स्वामित्व पानामामा दर्ता भएको साउथ एशिया फाइनान्सियल सर्भिस कर्पोरेशनको नाममा छ ।

पानामा ट्याक्स हेभन कन्ट्रीको रुपमा चिनिन्छ । पानामामा कम्पनी खोल्नका लागि कुनै कठिनाइ हुँदैन ।

साउथ एशिया फाइनान्सियल सर्भिस कर्पोरेशनमा ५१ प्रतिशत सेयर स्वामित्व अब्दुल अवाल मिन्टोको नाममा छ । ४९ प्रतिशत सेयर स्वामित्व सिनोभेसन इङ सिंगापुरको नाममा छ ।

सिनोभेसन कम्पनीमा ९९.५ प्रतिशत सेयर स्वामित्व राहुल चौधरी र वरुण चौधरीको नाममा छ । ०.५ प्रतिशत सेयर स्वामित्व मात्रै बिनोद चौधरीको नाममा छ ।

राहुल र वरुण दुबै बिनोद चौधरीका छोरा हुन् । यसरी घुमाएर नबिल बैंकमा मिन्टोको नाममा २५.५ प्रतिशत सेयर छ । जसको बजार भ्यालूएसन आजका दिनमा १८ अर्ब रुपैयाँ हुन्छ ।

को हुन् मिन्टो ?

नबिल बैंकमा घुमाएर २५.५ प्रतिशत सेयर स्वामित्व भएका ७० वर्षे अब्दुल अवाल मिन्टो बंगलादेशका चर्चित व्यवसायी हुन् ।

बंगलादेश चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष रहेका मिन्टो बंगलादेशका चर्चित व्यवसायी तथा राजनीतिज्ञ समेत हुन् ।

मिन्टो सार्क चेम्बर अफ कमर्शका आजीवन सदस्य हुन् । मल्टिमोड ग्रुप अफ कम्पनीका अध्यक्ष तथा सिइओ समेत रहेका मिन्टोसँग बैंकिङ, बीमा, व्यापार तथा उद्योगको क्षेत्रमा दख्खल छ ।

सन् २००६ देखि २००८ सम्म बंगलादेशमा कामचलाउ सरकार बनेको समयमा मिन्टोलाई भ्रष्टाचारको आरोप लागेको थियो ।

मिन्टोको सम्बन्ध नेपालका अर्बपति बिनोद चौधरीसँग छ । उनी चौधरीका व्यवसायिक साझेदार हुन् ।

बिनोद चौधरीको सिजी क्रप ग्लोवलमा मिन्टो एड्भाइजरी बोर्डमा छन् । बिनोद चौधरी अध्यक्ष रहेको सिनोभेसन सिजी ग्रुपको संस्थापक तथा बोर्ड मेम्बरमा मिन्टो संलग्न छन् ।


क्लिकमान्डु