र्‍याडिसन होटलको नाफा ८० प्रतिशतले घट्यो



काठमाडौं । पाँचतारे होटल र्‍याडिसनको नाफा ८० प्रतिशतले घटेको छ । आइतबार प्रकाशित कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको अघिल्लो वर्षको तुलनामा गत आवमा ७९.९० प्रतिशतले नाफामा संकुचन आएको हो ।

कम्पनीले अघिल्लो आवमा ३० करोड ८५ लाख १२ हजार रुपैयाँ आर्जन गरेकोमा गत आवमा जम्मा ६ करोड २२ लाख ९० हजार रुपैयाँमा नाफा सीमित भएको छ ।

कोरोना भाइरसको महामारीका कारण पर्यटन क्षेत्रमा परकोे असरका कारण नाफामा संकुचन आएको हो । साथै पर्यटन भौतिक पूर्वाधारको विकासमा कमी, विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढाव, प्राकृतिक प्रकोपलगायतका समस्याले गर्दा व्यवसायमा कमी आएको कम्पनीले उल्लेख गरेको छ ।

होटलको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ भने जगेडामा १ अर्ब ७ करोढ ९६ लाख रुपैयाँ छ । होटलको प्रति सेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २८.७२ रुपैयाँ रहेकोमा गत आवमा ५.५२ रुपैयाँमा सीमित भएको छ । त्यसैगरी होटलको प्रति सेयर नेटवर्थ पनि अघिल्लो आवमा २१०.४९ रहेकोमा गत आवमा १९५.७१ रुपैयाँमा सीमित भएको छ ।

होटलको अघिल्लो आवको अन्त्यमा प्रति सेयर बजार मूल्य ६०७ रुपैयाँ रहेकोमा गत आवमा ३०६ रुपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु