पत्रकार  बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक



काठमाडौं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ इभर्सनमा सार्वजनिक भएको छ । बुढाथोकीको यो तेस्रो पुस्तक हो ।

यसअघि बुढाथोकीको आर्थिक उदारीकरणको २० वर्ष र समाकालिन नेपाली अर्थतन्त्र विषयक २ पुस्तक सार्वजनिक भइसकेका छन् ।

सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली प्रयोग गरेर नेपालको अर्थ सामाजिक क्षेत्रमा कोरोना भाइरस महामारीले पारेको प्रभावहरूबारे अध्ययन सहायक सामग्रीका रूपमा यो पुस्तक तयार पारिएको हो ।

विगत २५ वर्षदेखि आर्थिक पत्रकारितामा संलग्न बुढाथोकी हाल न्युज कारोबार डट कमका प्रधानसम्पादक रहेका छन् ।

गत २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरबाट देखापरेको नव कोरोना भाइरसले विश्वव्यापी अर्थतन्त्रमा निकै गहिरो प्रभाव पारेको छ ।

अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंक, ओइसीडी, सीपीआरलगायतका विश्व आर्थिक संस्थाहरूले यसले पार्ने असरका विषयमा आफ्ना प्रक्षेपण वा अनुमानहरूमा समेत समय समयमा परिवर्तन गर्दै लगेका छन् ।

नेपाली अर्थतन्त्रमा कस्तो र कति गहिरो प्रभाव पर्छ भन्ने विषयमा अहिले नै यसै भन्न सकिने अवस्था छैन । फरक फरक आर्थिक संस्थाले नेपालको अर्थतन्त्रमा पर्ने प्रभावबारे केही स्थितिपत्र, द्रूत अध्ययन मूल्यांकन र सर्वेक्षणहरू गरेका छन् ।

प्रायः ती अध्ययन अंग्रेजी भाषामा तयार पारिएका र एकीकृत नहुँदा कोरोनाले अर्थ सामाजिक क्षेत्रमा पार्ने प्रभावका विषयमा अहिले पनि एक किसिमको अन्योल नै छ ।

कोरोनाले पारेको असरका विषयमा राष्ट्रिय अन्तरराष्ट्रिय निकायहरूका प्रतिवेदनका आधारमा तयार पारिएका सामग्रीहरूबाट नेपालका कोरोना भाइरसले पारेको असरको प्रारम्भिक मूल्यांकनका लागि एकीकृत रूपमा पुस्तकाकार रुप दिइएको हो ।

यसले सबै अध्येतादेखि सर्वसाधारणका लागि समेत सन्दर्भ सामग्रीका रूपमा काम गर्ने र भविष्यमा कोरोनाका आर्थिक असरबारे अध्ययनपत्रहरू तयार गर्न सहयोगी हुने लेखकले विश्वास लिएका छन् ।


पुष्प दुलाल