विश्वको हवाई क्षेत्र रिकभर हुन ४ वर्ष लाग्ने, एयर इन्डियाले बन्द गर्यो ५ देशको उडान



कोरोनाका कारण घाटा बेहोर्दै आएको भारतको सरकारी एयरलाइन्स कम्पनी एयर इन्डियाले ५ वटा देशमा हुने उडान रद्द गर्ने निर्णय गरेको छ । साथै ती देशमा रहेका कार्यालय समेत बन्द गर्ने निर्णय गरेको हो ।

एयर इन्डियाले उडान बन्द लागेका दशेमा डेनमार्क, इटली, स्वीडेन, स्पेन र पोर्चुगल छन् । यी देशमा रहेका कार्यालय समेत बन्द हुनेछन् ।

कोरोना भाइरसको महामारी तथा लकडाउनका कारण हवाई उड्डयन क्षेत्रको अवस्था नाजुक भएको समयमा अहिले विमान कम्पनीहरु जसोतसो खर्च मात्रै उठाउने उपाय खोजीरहेका छन् । अहिले भारतमा एक तिहाइ क्षमतामा आन्तरिक उडान गरिरहेका छन् भने अन्तर्राष्ट्रिय उडान पनि आधाभन्दा कम भएका छन् ।

लामो समयदेखि आर्थिक मन्दीबाट गुज्रिरहेको सरकारी कम्पनी एयर इन्डियाले ५ युरोपियन देशमा उडान बन्द गर्ने निर्णयसँगै त्यहाँ कार्यरत कर्मचारी पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।

अहिले एयर इन्डियामा करिब ७० हजार करोड भारुको ऋण छ । पछिल्लो समय लगातार घाटामा गइरहेको एयरलाइन्सले कर्मचारीरुलाई ५ वर्षका लागि बिना तलब विदामा पठाउने निर्णय गरेको छ । साथै एयरलाइन्सले कर्मचारहिरुको अलाउन्स ५० प्रतिशतले कटौती समेत गरिसकेको छ ।

हवाई क्षेत्र रिकभर हुनका लागि ४ वर्ष लाग्छ
इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले जुलाईमा गरेको प्रक्षेपणमा विश्वस्तरमा यात्रीहरुको ट्राफिक कोरोनाभन्दा अघिको अवस्थामा पुग्नका लागि कम्तीमा ४ वर्ष समय लाग्ने बताएको थियो । अर्थात् सन् २०२४ भन्दा अघि अन्तर्राष्ट्रिय स्तरमा यात्रीहरुको संख्या बढ्न गाह्रो हुने अवस्था छ ।

आईएटीएले सन् २०२० मा विश्वस्तरमा ट्राभलरको संख्या सन् २०१९ को तुलामा ५५ प्रतिशत कमी आउने सम्भावना रहेको उल्लेख गरेको छ ।

नेपालमा पनि चैत ११ गते लकडाउन भएसँगै हवाई कम्पनीहरु ग्राउन्डेड छन् । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरे पनि उक्त निर्णयलाई संशोधन गर्दै भदौ मसान्तसम्म बन्द जारी राख्ने निर्णय गरिसकेको छ ।

यसले हवाई क्षेत्र धरासायी हुने र ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने भन्दै वायुसेवा सञ्चालकहरुले तत्काल हवाई सेवा सूचारु नगरे आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइसकेका छन् ।- एजेन्सी


क्लिकमान्डु