प्रतितोला १ लाख मूल्य नाघेपछि व्यापारीले किने एक सातामा १०० केजी सुन



काठमाडौं । एकसातामा नै व्यापारीहरुले १ सय केजी सुन खरिद गरका छन् । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेपछि व्यापारीहरुले वाणिज्य बैंकबाट १०० केजी काँचो सून खरिद गरेका हुन् ।

व्यवसायीहरुले आवश्यकताअनुसार वाणिज्य बैंकहरुमार्फत् काँचो सुन खरिद गर्छन् भने वाणिज्य बैंकहरुले नेपाल बैंकर्स संघको सिफारिसमा विदेशबाट दैनिक १० किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बजारमा सुनको कारोबार नहुँदा गत फागुनमा नै आयात गरिएको सुन बैंकमा नै थन्किएको थियो । तर एक साताभित्र सुनचाँदी व्यवसायीहरुले बैंकहरुबाट १ सय केजी काँचो सून खरिद गरेको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए ।

‘यसअघि दैनिक २÷३ केजीभन्दा बढी सुन बैंकबाट बजार गएको थिएन, सीईओ शर्माले क्लिकमाण्डूसँग भने, ‘यो साता नै १ सय केजी सुन व्यापारीले खरिद गरेका छन् ।’

चैतयता यो सातामा सबैभन्दा सुन बिक्री भएको उनले जानकारी दिए ।

रुसमा कोरोना भ्याक्सिन बनेपछि सुनको भाउ एकदिनमै प्रतितोला ६ हजार २ सयले घट्यो

गत आर्थिक वर्षको फागुन मसान्तसम्म २१ वटा वाणिज्य बैंकहरुले २ हजार ४ सय केजी सुन आयात गरेका थिए । जसमध्ये गतसाता बैंकहरुमा २८० केजी सुन बिक्री हुन बाँकी थियो ।

अहिले बैंकहरुमा १ सय ८० केजी सुन बिक्री हुन बाँकी रहेको संघका सीईओ शर्माले जानकारी दिए ।

नेपालमा पहिलो पटक गत बुधबार १ लाख रुपैयाँ नाघेको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २१ गते सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ रुपैयाँ कायम भएको थियो ।

त्यसयता सुनको मूल्य दैनिक हजार रुपैयाँले बढ्न थालेपछि प्रतितोला सुनको मूल्य २ महिनामा नै १ लाख ५० हजार रुपैयाँ पुग्ने अनुमान मानिसहरुले गरेका थिए । सोही अनुमानलाई आधार मानेर आवश्यक हुने मानिसहरुले सुन खरिद गर्दा माग बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बताए ।

‘सुनको मूल्य लाख रुपैयाँ कट्ने बित्तिकै मानिसहरुले महिना दिनमा नै डेढलाख पुग्छ भनेर अनुमान गर्न थाले,’ महासंघका अध्यक्ष विश्वकर्माले क्लिकमाण्डूसँग भने, ‘जसकारण २÷४ महिनापछि खरिद गर्ने ग्राहकले पनि यही अवधिमा नै खरिद गरेका छन् ।’

२/३ यता सुनको खरिद गर्ने बढेपनि ग्राहक तीजको समयमा अघिल्लो वर्षको तुलनामा अत्यन्तै न्यून भएको उनले बताए ।

लाख रुपैयाँ मूल्य नाघेर साउन २४ गते १ लाख ३ हजार ५ सय रुपैयाँसम्म मूल्य पुगेर सुनको मूल्य घट्न थालेको थियो । साउन २८ गते छापावाला सुनको प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य घटेपछि ग्राहक अझै मूल्य घट्ने प्रतिक्षामा रहने हँदा अब तत्काललाई बजारमा सुनको माग खासै नहुने अध्यक्ष विश्कर्माको अनुमान छ ।


क्लिकमान्डु