तीन हजार खसी बोका बेच्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी



 

काठमाडौं । सरकारले ३ हजार खसी, बोका तथा च्याङग्रा बिक्री गर्ने भएको छ ।

सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिकभित्र स्थानीयस्तरमा उत्पादित खसी, बोका र च्याङग्रा खरिद गरी सहुलियत दरमा बिक्री गर्ने भएको हो ।

यस बाहेक खाद्य कम्पनीले धान, गहुँ मास, मुसुरोको दाल, चिनी, सूर्यमुखीको तेल र इन्डक्सन चुलो निजी क्षेत्रका व्यवसायीक प्रतिष्ठानसँग सम्वन्य गरी बिक्री गर्ने भएको छ । यस्तै, स्थानीयस्तरबाट खरिद गरी सहुलियतदरमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीले चालु आवभित्र ६ हजार वटा इन्डक्सन चुलो खरिद गरी बिक्री गर्ने जानकारी दिएको छ । यसअघि कम्पनीले ७ हजार ४०० वटा इन्डक्सन चुल्हो बिक्री गरेको थियो ।

कम्पनी खरिद गर्ने सामानमा धान ६० हजार मेट्रिक टन, चामल २५ हजार मेट्रिक टन, सिमी २ सय मेट्रिक टन, गहुँ ५ हजार मेट्रिक टन, मास ५० मेट्रिक टन, भटमास २० मेट्रिक टन, मुसुरोको दाल १ सय मेट्रिक टन र चिनी १० हजार मेट्रिक टन छ ।

साथै, रहरको दाल १ सय मेट्रिक टन, सनफ्लावरको तेल १० हजार लिटर र तोरीको तेल १० हजार लिटर खरिद गरी बिक्री गर्ने तय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले नेपाल खाद्य नामक व्राण्डमा खाद्य पदार्थ बिक्री गर्ने भएको छ ।

कम्पनीले चालु आवभित्रै स्थानीय कृषक र सहकारीसँग सम्वन्य गरी खाद्य वस्तुलाई निश्चित समयसम्मका लागि सञ्चय गर्न खाद्य बैंकको स्थापना गर्ने भएको छ ।

साथै खाद्य वस्तुको गुणस्तर मापन गर्ने अत्याधुनिक ल्याब र व्यापारीक प्रयोजनका खाद्य वस्तुको गुणस्तर परिक्षण सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल