हवाई उडान छिटो सूचारु नभए आन्दोलन गर्ने अवस्था आउँछः वायुसेवा सञ्चालक संघ



काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै हवाई उडान भदौ मसान्तसम्म प्रतिबन्ध गर्ने निर्णय गरेसँगै हवाई सेवा सञ्चालकहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

भदौ १ गतेदेखि हवाई उडान सञ्चालनको तयारी गरेका कम्पनीहरुले सरकारले अझै एक महिना पर धकलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सरकारले भदौ १६ गतेदेखि हवाई उडान सञ्चालन नगर्ने हो भने आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने स्पष्ट पारेका छन् ।

लकडाउन भएयता बन्द भएको आन्तरिक र बाह्य हवाई उडानका कारण वायुसेवा कम्पनीहरुले ठूलो आर्थिक घाटा बेहोर्नु परेको भन्दै तत्काल हवाई उडान सूचारु गर्नुपर्ने उनको भनाइ छ ।

हवाई सेवा नहुँदा यसबाट धेरैले दुःख पाएको उल्लेख गर्दै संघले बाढी पहिरो, असक्त विराबी, सुत्केरीलगायतलाई उद्दारका लागि नियमित उडान नहुँदा ठूलो असर परेको बताएको छ ।

साथै यसरी हवाई सेवा लामो समयसम्म बन्द भएकाले यस क्षेत्रमा प्रत्यक्ष र परोक्षरुपमा आश्रित १०औं हजार श्रमिकको आय स्रोत तथा तीनमा आश्रित परिवारको रोजीरोटी नै बन्द हुँदै हवाई उद्योग नै धरासायी बन्दै गएको संघले बताएको छ ।


क्लिकमान्डु