पार्टी प्यालेस र क्याटरिङमा लकडाउनः ५० हजार रोजगारी संकटमा, २ सयबढी बन्द हुने अवस्थामा



काठमाडौं । कोरोनाको महामारी नहुँदो हो त यतिबेला पार्टी प्यालेस र क्याटरिङको व्यापार चकमन्न हुन्थ्यो । हरितालिका तीजको समयमा हुने पार्टी गर्नका लागि क्याटरिङ अग्रीम बुक गर्नुपर्ने अवस्था आउँथ्यो ।

तर मुलुकमा कोरोना आइदियो । ८ महिनादेखि लगातार व्यवसायमा धक्का दिइरहेको कोरोनाका कारण यतिबेला पार्टी प्यालेस तथा क्याटरिङको अवस्था नाजुक बनेको छ । कोरोनाका कारण अन्य व्यवसाय जस्तै यो व्यवसाय पनि प्रताडित भएको छ ।

यतिसम्म कि साउन ७ गतेदेखि सरकारले लकडाउन हटाए पनि पार्टी प्लालेस र क्याटरिङ व्यवसायमा लकडाउन यथावत नै रह्यो । अझ खुल्ने अनिश्चितता बढ्दै गएकाले यसको मार अझै कति लामो समयसम्म जाने हो भन्न सकिने अवस्था पनि छैन ।

केही सीमित क्षेत्र नखोली सरकारले लकडाउन हटाएको घोषणा गरे पनि यी क्षेत्रको समस्या ज्यूँका त्यूँ नै छ । सरकारले लकडाउन खोले पनि २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेसँगै पार्टी प्यालेस र क्याटरिङका ढोका कहिले खुल्छन भन्ने यकिन छैन ।

‘लकडाउन हुनुभन्दा अगाडि नै चैत महिनामा १०/१२ वटा कार्यक्रमका लागि बुक भएको थियो । तर, लकडाउनले गर्दा सबै कार्यक्रम रद्द भयो,’ कुपण्डोल ब्याङ्क्वेटका सञ्चालक अभिषेक ढुङ्गेलले भने ।
उनका अनुसार बैशाख, जेठ, असारमा राम्रो आम्दानी हुन्थ्यो तर, कोरोनाले गर्दा सबै बन्द अवस्थामा रहेको बताए ।

कोरोनाले व्यावसाय बन्द भएसँगै हालसम्मको घरभाडा र कर्मचारीलाई मासिक तलब समेत दिन नसकेको उनले बताए ।

‘विगतको दिनमा यो बेला पार्टी प्यालेस भ्याइनभ्याइ हुन्थ्यो,’ उनले क्लिकमान्डुसँग भने, ‘अहिले पार्टी प्यालेस बन्द गरेर बस्नुपरेको छ ।’

उनका अनुसार असारमा सबैभन्दा बढी बैंक, सहकारी तथा अन्य कार्यक्रम बढी हुने गरेको बताए ।

लामो समयसम्म ब्याङ्क्वेट खुल्ने कुनै छाँटकाँट नदेखिएपछि अनमोल क्याटरिङ प्रालिले भने केही महिनाका लागि बीग मार्टसँग सम्झौता गरेको क्याटरिङका प्रबन्धक समस्त थापाले जानकारी दिइन् ।

उनका अनुसार लगभग तीन महिना पूर्णरुपमा बन्द भएपछि असारमा मंसिरसम्मका लागि बीग मार्टसँग सम्झौता गरेको उनले बताइन् ।

‘ब्याङक्वेटमा करिब १२ जना कर्मचारी थियो,’ उनले भनिन्, ‘लकडाउन भएसँगै सबै कर्मचारीलाई विदामा राखेका छौं ।’

यस्तै, महिलाहरूको विशेष पर्व तीज नजिकिँदै गर्दा विगतको दिनमा जातातत्तै छुट्टै खालको रौनक हुन्थ्यो तर अहिले कोरोनाले गर्दा सबै पार्टी प्यालेस सुनसान अवस्थामा रहेको बानेश्वर ब्याङ्क्वेटका कर्मचारी नवराज थापाले बताए ।

कोरोनाले गर्दा अहिले कसरी भाडा तिर्ने, कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने कुराले पिरोल्न थालेको उनको भनाइ छ ।

यस्तै देशभरका सबै पार्टी प्यालेस तथा क्याटरिङको अवस्था उस्तै छ । सरकारले कोरोना भाइरसको नियन्त्रणको लागि बनाइएको मापदण्ड पालना गर्न निर्देशन दिएसँगै अझै खोल्न सक्ने अवस्थामा नरहेको पार्टी प्यालेस तथा क्याटरिङ व्यावसायीहरुको भनाइ छ ।

व्यावसाय बन्द भएको करिब ५ महिना भइसक्यो तर कहिले सामान्य अवस्था होला र आम्दानी गर्न सकिएला भनेर सबै व्यावसायीहरू चिन्तित अवस्थामा रहेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यावसाय महासंघका अध्यक्ष लीला बहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार लकडाउनले यो क्षेत्र निकै मारमा परेकाले सरकारले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय गर्नुपर्ने बताउँछन् ।

अधिकांश पार्टी प्यालेस बन्द हुने अवस्थामा
कोरोनाले गर्दा नेपालभरका सबै पार्टी प्यालेस तथा क्याटरिङ पाँच महिनादेखि बन्द अवस्थामा छन् । सरकारले लकडाउन खुकुलो बनाए पनि पार्टी प्यालेस खुल्न सक्ने अवस्था छैनन् ।

नेपालमा ७ हजारभन्दा बढी पार्टी प्यालेस रहेको महासंघले जनाएको छ । ती पार्टी प्यालेस नेपालका विभिन्न ४५ जिल्लामा छरिएका छन् ।

कोरोनाले गर्दा पार्टी प्यालेस व्यावसायी आर्थिकमन्दिका कारण धरापमा रहेको महासंघका अध्यक्ष जिसीले बताए ।

अधिकांश पार्टी प्यालेस व्यावसायीले भाडामा जग्गा लिएर सञ्चालन गरिरहेको हुनाले भाडाका कारण निकै मारमा परेको उनको भनाइ छ ।

पार्टी प्यालेसले मौसम अनुसारको आम्दानी गर्दछ । पार्टी प्यालेस तथा क्याटरिङले ६ महिना आम्दानी धेरै आम्दानी गर्छन् भने ६ महिना थोरै मात्रामा आम्दानी गर्छन् ।

जसमा मंसिर , माघ, फाल्गुन , बैशाख , जेठ र असार आम्दानी गर्ने मौसम रहेको अध्यक्ष जिसीको भनाइ छ । उनका अनुसार आम्दानी गर्ने मौसमको बेला नै लकडाउन भएपछि अधिकांश व्यावसाय विस्थापित हुन थालेको बताए ।

व्यावसायीहरूलाई भाडा, बैंकको ब्याज तथा कर्मचारीलाई मासिक तलब दिन नसकेको अवस्थाले पनि निकै चिन्तित बनाएको उनको बुझाइ छ ।

‘हालसम्म २५/३० जनाले व्यावसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘अझै ४÷५ महिना व्यावसाय बन्द भयो भने २ सयभन्दा बढी पार्टी प्यालेस बन्द हुनेछ ।’

यसका लागि महासंघले कसरी सञ्चालन गर्न सकिने विषयमा छलफल भइरहेको जनाए ।

५० हजार बढी बेरोजागर
लकडाउन भएसँगै पार्टी प्यालेस तथा क्याटरिङमा प्रत्यक्षरुपमा आबद्ध ५० हजारभन्दा बढी बेरोजगार हुने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष जिसीले भने, ‘हाल पनि अधिकांश रोजगारदाताले कर्मचारीलाई मासिक तलब दिन सकेका छैन ।’

साथै, देशविदेशबाट फर्केर आएर रोजगारी दिनुपर्ने अवस्थामा यो क्षेत्र निकै मारमा परेकाले बाँकी ५० हजार पनि विस्थापन हुने चिन्ता बढेको उनले जानकारी दिए ।


क्लिकमान्डु