उपत्यकाका मेयरको सुझावः तरकारी व्यापार साँझबिहान खोलौं, केही क्षेत्र ३ साता बन्द गरौं



काठमाडौं । उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षामन्त्रालयमा छलफल गरेको छ ।

फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गरेका हुन् ।

संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने सकारात्मक कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष शाक्यले जानकारी दिए ।

‘काठमाडौंको घनाबस्तीयुक्त क्षेत्रमा कोरोना संक्रम समूदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाई गर्न हामीले सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलज्युलाई आग्रह गरेका छौं,’ शाक्यले भने, ‘हामीले उपत्यकाबासीको मागका बारेमा जानकारी गराएका छौं । उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ । आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भीरताका साथ छलफल गर्छाै भनेर उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।’

छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुहरुलाई ध्यानमा राखी क्वारेन्टिन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टिन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले जानकारी दिए ।

‘उपत्यकामा समूदायस्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा र्याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाइ गर्न पनि हामीले सुझाव दिएका छौं,’ मेयर शाक्यले भने, ‘जात्रा–पर्व विधिपूर्वक सामान्यरुपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौ । सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्णरुपमा रोक लगाउन हामीले सुझाव दिएका छौं ।’

मेयर शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावीरुपमा लुकिलुकी उपत्यका भित्रिने गरेको र उनीहरुका कारण समूदायस्तरमासम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरुलाई कारवाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत आग्रह गरे ।

त्यसैगरी, छलफलमा फोरमका सचिव श्रेष्ठले संक्रमण सर्न सक्ने सम्भावनलाई न्यूनिकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखेर मास्क नलगाई आवत–जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सुझाव दिएको जानकारी दिए ।

‘सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरबिजोर प्रणाली लागू गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोरबिजोर लागू गर्नुपर्ने सुझाव दिएका छौं,’ श्रेष्ठले भने, ‘उपत्यकामा संक्रमणको जोखिमयुक्तबाट स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छौं ।’

सुझावमा तरकारी व्यापारलाई साँझ बिहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्न सुझाव दिइएको उनको भनाइ छ ।

आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ महलहरु संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ ।

फोरमले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि वृद्ध–वृद्धा बाहिर निस्किने र संक्रमणको खतरा बढी हुने भन्दै त्यसको नविकरणका लागि म्याद थप गर्न पनि सुझाव दिएको छ ।

फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव श्रेष्ठसहितको शनिबार बसेको छलफलले आइतबार मन्त्री पोखरेललाई भेटी सुझाव दिने निर्णय गरेको थियो । फोरमको बैठक सोमबार बस्ने तय भएको छ ।


क्लिकमान्डु