संक्रमित देखिएका क्षेत्र तुरुन्तै सटडाउन गर्ने उपत्यकाका तीन जिल्लाका सीडीओको निर्णय



फाइल फोटो

काठमाडौं । कोरोना संक्रमण बढेपछि उपत्यकाका तीन जिल्लामा मानवीय गतिविधि तथा आवातजावतमा कडाइ गरिने भएको छ । शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, उद्योग वाणिज्य संघ र सुरक्षा निकायको प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौं जिल्लाको तर्फबाट सीडीओ जनकराज दाहाल, भक्तपुरका सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायणप्रसाद भट्टसहित जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीहरुको बैठक बसेको थियो ।

बैठकले उपत्यकका तीन जिल्लामा जहाँ सक्रिय संक्रमण बढी देखिन्छ त्यस ठाउँमा संक्रमण ऐनमा तोकिएको मापदण्ड पूरा गर्न निर्देशन दिने ललितपुरका सीडीयो नारायणप्रसाद भट्टले बताए ।

‘आवश्यकता अनुसार बढी संक्रमण देखिएको ठाउँमा सम्बन्धित निकायले निर्देशन दिनेछ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिलेलाई जोरबिजोर प्रणाली लागू भएको अवस्थामा अब आधारभूत स्वास्थ्य सुरक्षा अपनाइ मात्र आवातजावत गर्न दिने निर्णय भएको छ ।’

बढी संक्रमण देखिएमा संक्रमित क्षेत्र सिल गर्नुका साथै सटडाउनसमेत गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले बढी भेला हुने क्षेत्रहरु सपिङ मल, खुल्ला व्यापारी प्रतिष्ठान, निजी तथा सहकारी संघसंस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे÷नगरेको निगरानी तथा अनुगमन गर्ने निर्णय समेत शुक्रबार बसेको बैठकले गरेको छ ।

बैठकले थप क्वारेन्टिन, आइसोलेसन सेन्टर निर्माण प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको सीडीओ भट्टले जानकारी दिए ।


क्लिकमान्डु