ओम्नीले ठेक्का नपाउने भएपछि जनक शिक्षा सामग्री केन्द्रले गर्यो कागज खरिदको टेण्डर रद्द



काठमाडौं । विवादास्पद व्यवसायिक ग्रुप ओम्नीले ठेक्का नपाउने भएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज खरिदको ठेक्का रद्द गरेको छ ।

जनक शिक्षाले ७ हजार मेट्रिक टन कागज खरिदका लागि दुईवटा बोलपत्र आह्वान गरेको थियो । जसमा एउटा बोलपत्रमार्फत् ४ हजार मेट्रिक टन कागज र अर्को बोलपत्रमा ३ हजार मेट्रिक टन कागज खरिद गर्नका लागि बोलपत्र आह्वान गरिएको थियो ।

तर लिमिटेडले ती दुईवटै बोलपत्र रद्द भएको छ । जनक शिक्षाले पुनः कागज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

जनक शिक्षाले ४ हजार मेट्रिक टन कागज आपूर्तिको लागि १५ दिन अगाडि नै ठेक्का रद्द गरेको थियो । यस्तै ३ हजार मेट्रिक टनको ठेक्का साउन १८ गतेको निर्णय अनुसार २२ गते रद्द भएको सूचना जारी गरेको थियो । जसको टेण्डर शुक्रबार आह्वान गरिएको छ ।

अघिल्लो वर्षपनि जनक शिक्षाको कागज खरिदको ठेक्का ओम्नीले नै हात पारेको थियो । ४ हजार मेट्रिक टन कागज ओम्नीले समय थप गरेपछि मात्र बुझाउन सकेको थियो ।

‘यो पटक कोरोना भाइरसको कारण लकडाउन नभएको भए हामीले समयमा पाठ्यपुस्तक दिन सक्ने अवस्था थिएन, ओम्नीले समयमा कागज नै दिएको थिएन, साउनको पहिलो साता आएर बल्ल कागज दिएको छ,’ जनक शिक्षा स्रोतले भन्यो ।

यो पटकको कागज खरिदका लागि आह्वान गरिएको बोलपत्रमा ओम्नीले समेत सहभागिता जनाएको थियो । तर प्राविधिक मूल्यांकनमा ओम्नी धेरै पछाडि परिसकेको थियो ।

‘आफूले ठेक्का नपाउने भएपछि ओम्नीको दबाबमा ठेक्का रद्द गर्नुपर्यो,’ जनक शिक्षा स्रोतले भन्यो, ‘पुनः बोलपत्र आह्वान भएको छ, ओम्नीलाई दिनका लागि निकै नै ठूलो दबाब आएको छ ।’

ओम्नीले गतवर्षको कागज आपूर्तिको ठेक्का पाएपछि समयमा कागज बुझाउन नसकेपछि म्याद थप्न नै दबाब दिएको थियो ।

‘दबाबको कारण हामीले म्याद थप गर्नुपर्यो जसले गर्दा जनक शिक्षाले समयमा किताब छाप्ने काममा असर गर्यो,’ जनक शिक्षा स्रोतले भन्यो ।

बजारमा पाठ्यपुस्तक छपाइ हुने ७० ग्राम तौल भएको कागजको एक प्याकेजको मूल्य १ हजार ७२१ रुपैयाँ पर्छ । यो भ्याटसहितको मूल्य हो । ७० ग्राम तौल भएको एक प्याकेजको तौल १५.५ केजीको हुन्छ । यसअर्थमा १ मेट्रिक टनमा ६४.५ प्याकेट हुन्छ ।

अब ७ हजार मेट्रिक टनमा ४ लाख ५१ हजार ६१२ प्याकेट हुन्छ । जसको वर्तमान बजार मूल्यअनुसार ७७ करोड ७२ लाख रुपैयाँ पर्छ । समय अनुसार कागजको बजार मूल्य पनि थपघट हुन्छ ।

ओम्नी समूह अहिलेको सरकारले निकै नै प्रोत्साहन दिएको विवादास्पद व्यवसयिक ग्रुप हो ।

सरकारले कोरोना भाइरसको कारण लकडाउन गरेको समयमा कुनै अनुभव नै नभएको ओम्नीलाई मेडिकल सामान ल्याउन ठेक्का दिएको थियो ।


क्लिकमान्डु