बुध्द एयरले गर्यो सिमरामा उडान परीक्षण



काठमाडौं । बुध्द एयरले सिमरा विमानस्थलमा परीक्षण उडान गरेको छ । कम्पनीका अनुसार नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुध्द एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको हो ।

काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार २१ गते बुध्द एयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको जनाएको छ ।

यसअघि बुध्दका एटीआर ४२–३२० सिरिज र वीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेका थिए ।

चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुध्द भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ ।

नेपालकै सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्दछ ।

बुध्द एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ‘डी’ विमान छन् ।

भदौ १ बाट हुने उडानका लागि बुध्द एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ । यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज, फेसमास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि विमान, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु