चिनियाँ विमान व्यवस्थापनबारे निगमले मन्त्रालयमा बुझायो ३ सुझाव



काठमाडौं । चिनियाँ विमानको सञ्चालन बन्द भएपछि नेपाल वायुसेवा निगमले पर्यटनमन्त्रालयमा ३ वटा सुझाव दिएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले निगमको बोर्ड बैठकले गरेको निर्णय अनुसार पर्यटन मन्त्रालय समक्ष ३ वटा सुझाव दिएको जानकारी दिइन् ।

उनका अनुसार गत साउन १६ गते सोमबार मन्त्रालय समक्ष लिखितरुपमा बिक्री गर्ने, भाडामा दिने वा सरकारलाई नै फिर्ता दिने ३ वटा विकल्पमा निर्णय गर्न सुझाव दिएको हो ।

लामो समयदेखि ग्राउन्डेड रहेका चिनियाँ विमानबाट निगमलाई बोर्ड बैठकले २ अर्बभन्दा बढी रुपैयाँ घाटा भएपछि साउन १५ गतेदेखि सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसयता ग्राउन्डेड भएका सबै विमान के गर्ने भन्ने विषयमा निगममा बोर्ड बैठक बसेको थियो । जसले आगामी दिनमा सञ्चालन गर्न नसकिने बताउँदै विकल्प सुझाव दिएको थियो ।

चीन सरकारको सहयोग तथा सहुलियत ऋणमा ल्याइएको चिनियाँ विमान लामो समयदेखि ग्राउन्डेड छन् ।

‘केही विमान आएदेखि नै चलेका छैनन भने केही विमान लामो समयदेखि ग्राउन्डेड छन्, चलेका विमानबाट पनि निगमले व्यवसायिक लाभ लिन सकेको छैन,’ उनले भनिन् ।

चिनियाँ विमानको बीमा, मर्मतलगायतका सञ्चालन खर्च समेत धान्न नसकिने अवस्था आएपछि निगमले चिनियाँ विमानको सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो ।

निगमका एक बोर्ड सदस्यका अनुसार निगमका ती विमानहरु कुनै पनि हालतमा सञ्चालन गर्न नसकिने अवस्था आएको भन्दै सरकारलाई नै फिर्ता दिने अवस्था आएको बताए ।

चिनियाँ विमान सरकारको स्वामित्वमा भएकाले सरकारलाई नै फिर्ता दिने अवस्था आएको ती बोर्ड सदस्यको भनाइ छ ।

विमान खरिद गर्दा ६ अर्ब ६० करोड रुपैयाँ र हालसम्म २ अर्ब ३० करोड रुपैयाँ गरी हालसम्म चिनियाँ विमानबाट मात्रै ८ अर्ब ९० करोड रुपैयाँ घाटा भइसकेको छ ।

यसका लागि निगमले विभिन्न ८ वटा कारण देखाएको छ ।
चीन सरकारको सहयोगमा प्राप्त भएका २ वटा विमान एमए६० र वाई १२ र सहुलियतपूर्ण कर्जामा प्राप्त बाँकी ४ वटा एउटा एमए६० र ३ वटा वाई१२ विमान ल्याएदेखि घाटामा गइरहेको भन्दै सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो ।

निगमका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि आव २०७४/७५ सम्म ६ वटा चिनियाँ विमानबाट हालसम्म १ अर्ब ९० करोड रुपैयाँ घाटा भएको छ । त्यसैगरी आव २०७५र७६ सम्म थप ४३ करोड रुपैयाँ घाटा गरी कुल २ अर्ब ३३ करोड रुपैयाँ निगमलाई घाटा भइसकेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०७४/७५ मा २ वटा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा मात्रै ९१ करोड ४५ लाख ६५ हजार ८२ रुपैयाँ निगमलाई खुद नोक्सानी भइसकेको छ । निगमले ठूलो घाटा भइसकेपछि मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनु पर्ने समेत उल्लेख गरेको छ ।

बोर्डले प्राप्त सुझावलाई समेत ध्यानमा राख्दै यी विमान सञ्चालनका लागि मोलालिडी तयार गर्न वा अन्य उपयुक्त व्यवस्था गर्न विभिन्न समसयमा ७/८ वटा टास्क फोर्स समेत गठन गरेको थियो । हालसम्म सञ्चालक समितिका २० वटा बैठकमा तमाम प्रयासपछि पनि विमान सञ्चालन गरी मुनाफा आर्जन गर्न नसकिने निश्कर्ष निकालेको थियो ।

चिनियाँ विमानहरु सञ्चालनको प्रयास गर्दा मात्रै पनि बीमा शुल्क, क्रु मेम्बरका लागि हुने खर्च तथा पिरियडिक मेन्टिनेन्स फर एयर वर्थिनेस खर्च मात्र गरी वार्षिक ५० करोडभन्दा बढी खुद घाटा हुने देखिएको थियो ।

निगमका अनुसार आगामी साउन १५ गतेदेखि विमानको व्यवसायी उडान बन्द गर्ने, लविमान मर्मत गर्ने लाइसेन्स भएका इन्जिनियरङलाई सो वापतको भत्ता उपलब्ध नगराउने र यी विमान सञ्चालन गर्न करारमा नियुक्त पाइलटहरुको करार नविकरण नगर्ने निर्णय गरी उपयुक्त निकास खोज्ने निर्णय गरिएको छ ।

हाल ६ वटा चिनियाँ विमानमध्ये एमए६० ग्राउन्डेड छ भने अर्को सञ्चालनमा छ । त्यसैगरी ४ वटा वाई१२ मध्ये ३ वटा ग्राउन्डेड छ भने एउटा नेपालगञ्जमा पूर्णरुपमा क्षतिग्रस्त भइ चल्न सक्ने अवस्थामा छैन् ।

यसका अतिरिक्त चिनियाँ विमान विस्थापन गर्दा अबरुद्ध हुने आन्तरिक उडालाई सूचारु गर्न इन्टिग्रेटेड डोमेस्टिक विजनेस प्लान विथ रिप्लेसमेन्ट प्लान अन्तर्गत एमए ६० र वाई १२ विमान प्रतिवेदन तयार गरी लागू गर्ने समेत निर्णय निगमले गरेको छ ।

यस्ता छन्, कारण
१) चिनियाँ विमानको बीमा रकम अन्य विमानको तुलनामा ३५ प्रतिशत बढी छ ।

२) चिनियाँ विमानका लागि पाइलट उपलब्ध नभएको तथा आफैले उत्पादन गर्नु परेको छ जुन निगमसँग हाल सञ्चालनमा रहेका एयरबस ३२० को तुलनामा महंगो छ ।

३) विमानको स्पेयर पार्टस समेत समान क्षमताका अन्य विमानको तुलनामा ७५ प्रतिशत महंगो छ ।

४) विमान ग्राउन्डेड भइसकेपछि स्पेयर पार्टस अर्डर गर्दा अत्यधिक समय लाग्ने गरेको साथै कतिपय अवस्थामा अर्डर गरेको पार्टस २ महिनासम्म पनि प्राप्त नभएको अवस्था छ ।

५) स्टोल रुटमा प्रस्तावित विमानको तुलनामा २५ देखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन छ ।

६) दुबै विमानको पाइलट अभाव रहेको तथा प्रशिक्षण खर्च अन्य समान विमानको तुलनामा ४ गुणा बढी छ ।

७) एमए६० सिमेलुटर तालिम खर्च अन्य विमानको तुलनामा ७५ प्रतिशत बढी र टाइप रेटिङ तालिम खर्च ३० प्रतिशत बढी छ ।

८) एमए६० विमानको इन्धन खर्च अन्य समान प्रकृतिको विमानको तुलनामा दोब्बर र वाई१२ विमानको ५० प्रतिशतले बढी छ ।


क्लिकमान्डु