स्वास्थ्यको प्रोटोकल पालना नगर्ने होटल, रेष्टुराँ बन्द गर्ने सरकारको निर्णय



 

काठमाडौं । सरकारले स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना नगर्ने होटल तथा रेष्टुराँ बन्द गर्ने भएको छ ।

‘चार महिनाको लकडाउनपछि खुलेका होटल तथा रेष्टुराँले स्वास्थ्य सम्बन्धि तयार पारेको प्रोटोकल पालना नगरेको सूचना प्राप्त भएको छ, पालना नगर्ने सबै होटल तथा रेष्टुराँ बन्द गर्छौ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले क्लिकमाण्डूलाई जानकारी दिए ।

होटल तथा रेष्टुराँले स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना नगरेको र यसले कोरोना संक्रमणको जोखिम बढाउन सक्ने भन्दै सरकारले त्यस्ता होटल तथा रेष्टुराँ बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ । तर मापदण्ड पालना गर्नेहरुको हकमा भने बन्द नहुने उनले स्पष्ट पारे ।

‘मास्क नलगाइभित्र प्रवेश गर्न पाइँदैन, सिटको एरेञ्जमेन्ट पनि एक/एक मिटरको दूरीमा राख्नुपर्छ, २५ जनाभन्दा बढी जम्मा हुन पाइँदैन, खानेकुरा सेयर गर्न पाइँदैन,’ उनले भने ।

उनका अनुसार हात धुने राम्रो व्यवस्था नभएका, सेनिटाइजरको व्यवस्था नभएका होटल तथा रेष्टुराँहरु बन्द हुन्छन् ।

‘हाल हामीसँग स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना नगरेको भन्ने सूचना आइरहेको छ, अनुगमन पनि भइरहेको छ,’ उनले भने, ‘स्याम्पलिङका आधारमा अनुगमन गरिरहेका छौं ।’

४ महिनाको लकडाउनपछि साउन १५ गते खुलेका होटल तथा रेष्टुराँहरुले स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना नगरेको अहिले मन्त्रालयमा सूचना आइरहेको उनले बताए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोा संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले धेरै भीड हुने होटल तथा रेष्टुराँमा निगरानी बढाएको हो ।


क्लिकमान्डु