श्रीराम सुगर मिल्स सधैको लागि बन्द, सम्पत्ति बेचेर दायित्व तिर्ने



काठमाडौं । रौतहटमा रहेको श्रीराम सुगर मिल्स सधैको लागि बन्द हुने भएको छ । मिल्सले सूचना जारी गर्दै अत्याधिक घाटा भएको र उद्योग चलाउने वातावरण नभएको भन्दै उद्योग नै बन्द गर्ने निर्णय गरेको हो ।

श्रीराम सुगर मिल्स पब्लिक लिमिटेड कम्पनी हो । सुगर मिल्सले नेप्सेलाई उद्योग बन्द गर्ने निर्णय भएको जानकारी पठाएको छ । २०७५/७६ सम्म कम्पनीको घाटा २ अर्ब १७ करोड रुपैयाँ पुगेको कम्पनीको खराब अवस्थाको कारण उद्योगमा कार्यरत कर्मचारी र श्रमिकलाई ४ महिनादेखि तलब खुवाउन नसकिएको जानकारी नेप्सेमा पठाएको पत्रमा छ ।

गतवर्ष उखुको क्रसिङका लागि १३ दिन मात्र उद्योग खुलेको र कोरोना भाइरसको कारण भएको लकडाउनको कारण अब उद्योग संचालन गर्न नसक्ने देखिएको हुँदा उद्योग पूर्ण रुपमा बन्द गर्ने निर्णय लिएको हो ।

उद्योगले किसानलाई ठूलो रकम बुझाउनुपर्ने छ । उद्योगले बन्द गर्ने प्रक्रिया सुरु गरेको र सम्पत्ति बिक्री गरेपछि मात्र दायित्व तिर्न सक्ने जनाएको छ । उद्योग नेपालका प्रमुख व्यापारिक घराना विशाल ग्रुप र गोल्छा अग्रनाइजेशन अन्तर्गतको स्वामित्वमा थियो ।


क्लिकमान्डु