कोरोनाको कहरबीच आनन्द बगरियाले ‘निम्बस बजार’मा देखेको अवसर: ‘डिसरुप्टिभ इकमर्स’



कोरोना भाइरस महामारीका रोकथाम तथा न्यूनिकरण गर्नका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्यो । जसका कारण मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः भयो ।

मानिसहरु घरबाट बाहिर निस्कन सकेनन् भने दैनिक जीवनमा आइपर्ने खाद्यान्न सामग्री पनि खरिद गर्न पाएनन । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको बेला निम्बस ग्रुपका आनन्द बगरियाले ‘निम्बस बजार’मा व्यापारको नयाँ अवसर देखे । त्यो थियो ‘इकमर्स’ अर्थात् अनलाइन सेवा ।

कोरोनाको महामारीका कारण व्यवसायमा संकुचन आएसँगै कम्पनीले यसबाट बाहिर निस्कन र सामान्य अवस्थामा फर्कनका लागि इकमर्स रोजेको प्रबन्ध निर्देशन आनन्द बगरियाले बताए । कम्पनीले डिलर तथा व्यापारिक पसलबाट बिक्री गर्दै आएका सामग्रीलाई अब अनलाइनमाध्यमबाट बिक्री शुरु गरी व्यवसायमा नयाँ आयामको विउ बिजारोपण गरेको थियो ।

कुखुराका दाना उत्पादन र बिक्रीमा गर्दै आएको निम्बसको सञ्जाल देशभरी नै थियो । पछिल्लो समयमा ‘कृषि प्रशोधन’मा समेत हात हालेको कम्पनीले ग्राहकहरुको संख्यात्मक र गुणात्मक दायरा पनि ठूलो बनाइसकेको थियो । व्यापारको सञ्जालसँगै कम्पनीको ग्रोथ पनि दिनानुदिन बढ्दै थियो । कम्पनीको देशभरीको पहुँचको विश्वासिलो आधारको जगमा उभिएर इकमर्समा हात हालेको थियो ।

‘हामीले आगामी दशैंसम्ममा अनलाइन सेवा शुरु गर्ने योजना बनाएका थियौं, त्यसका लागि काम पनि हुँदै थियो तर यसैबीच कोरोनाको महामारी आइपुग्यो, जसमा परम्परागत व्यवसाय ठप्प भएकाले बेलामा हामीले अवसर देख्यौं र शुरुवात गर्यौं,’ बगरियाले भने ।

स्मार्टफोनलगायतका प्रविधिको प्रयोग बढेसँगै इकमर्सको बजार पनि बिस्तार हुँदै जाँदा कम्पनीलाई पनि अब इकमर्सका प्लेटफर्मको प्रयोग किन नगर्ने भन्ने नलागेको होइन तर बगरिया उचित समयको पर्खाइमा थिए ।

कोरोनाको कहरबीच परम्परागत व्यवसायको विउ रोप्ने उचित समय नभए पनि इकमर्सका लागि भने अवसर बनिदियो । सरकारले पनि सोही समयमा घरघरमा खाद्यान्नको डेलिभरी शुरु गरेको थियो ।

इकमर्स प्लेटफर्ममा कम्पनीले शुरुमा मास्क र सेनिटाइजर उपभोक्ताका घर दैलोमा पुर्याएको थियो त्यसपछि कम्पनीले कुखुराका दानासँगै प्रशोधित सामग्री पनि थप गर्दै लग्यो । बजारमा मास्क र सेनिटाइजरको अभाव भइरहेका बेलामा यसको बिक्री गर्दा ग्राहकसँग छिट्टै जोडिने माध्यम पनि बन्यो ।

‘सायद दशैंमा शुरु गरेको भए अवस्था फरक पर्न सक्थ्यो तर कोरोनाका कारणले उपभोक्ताहरुले पनि घरमै पुर्याइदिए हुन्थ्यो, घरबाहिर सकेसम्म निस्कन नपाए हुन्थ्यो भन्न थालेकाले हामीलाई केही सजिलो भयो,’ उनले भने ।

उनका अनुसार मानिसहरुको खरिदको व्यवहार परिवर्तन भइरहेको छ, भने सकेसम्म होम डेलिभरी नै भए हुन्थ्यो सोच आउन थालेको छ । किनमेलका लागि घरबाट बाहिर नगइकन पनि सामान आउँदो रहेछ भन्ने मानिसमा सोच बिस्तारै आदत बन्न थालेको छ ।

‘अनलाइनमै किन जानु पर्यो त भन्ने पनि छ । यसमा केही अनुभवहरु छन् । त्यो के भने यसमा नगदमा कारोबार हुन्छ, उपभोक्तासँग सिधा सम्पर्कमा काम गर्न सक्छौं भने पछिल्लो समय इकमर्सको बजार जुन हिसाबले बढेको छ मानिसहरु त्यसतर्फ आकर्षित भइरहेका छन्,’ उनले भने ।

निम्बसका लागि सबैभन्दा राम्रो पक्ष के थियो भने कम्पनीका देशभरी नै भएको नेटवर्कका कारण हरेक ठाउँमा सामान पुर्याउन सजिलो हुन थाल्यो । अर्को कुरा कम्पनीप्रति आम उपभोक्ताको विश्वास पनि थियो । बजारमा नयाँ ब्राण्ड आउँदा विश्वसनीयता कमाउनका लागि जति समय लाग्थ्यो, जति खर्च हुन्थ्यो त्यसमा निम्बसका लागि सहज बनिदियो ।

निम्बसले आजसम्म गरेको बजार विस्तार र सामानको गुणस्तरका आधारमा अनलाइनमा जाँदै गर्दा उपभोक्ताले छिट्टै विश्वास गर्ने वातावरण बन्यो ।

‘जसरी अहिले परम्परागत व्यवसाय छ त्यो विस्तारै परिवर्तन हुँदैछ र हामी पनि सोही अनुसार व्यवसायको फरक प्रकृति अबलम्बन गर्नैपर्छ, त्यसका लागि पनि निम्बस अनलाइन माध्यममा गएको हो, ’ उनले भने, ‘आजका दिनमा सामान सस्तो र गुणस्तरीय चाहिएको छ । र, समयमै पनि चाहिन्छ । जसमा निम्बस ‘फिट’ छ भन्ने हाम्रो विश्वास हो र यो नै हाम्रो महत्वपूर्ण पक्ष हो ।’

व्यापारको परम्परागत पद्दतिमा यतिबेला विश्वव्यापी रुपमै नयाँ आयाम थपिएका छन् । यातायात व्यवसायमा सेयर राइडिङ, सोसल मिडियाका रुपमा फेसबुक, ट्विटर, युट्युव र व्यापारमा इकमर्सको शुरुवात नै नयाँ आयाम हो । र, अर्को कुरा यसका ठूलो संख्यामा युवाहरु ग्राहक हुनुहुन्छ । त्यसैले भोलिका दिनमा युवालाई आकर्षित गर्नका लागि पनि इकमर्सको सम्भावना ठूलो रहेको हामीले पाएका छौं ।

‘इकर्स भन्ने वित्तिकै सामान घरमा मात्रै पुर्याउने मात्रै होइन रहेछ, जब काम गर्दै गयौं त्यसपछि हामीले अनेकन समस्या, यसभित्रका अवसर थाहा पाएका छौं, जसलाई सुधार गर्दै फिचर्सहरु थप्दै अगाडि बढ्ने योजना बनाएका छौं,’ उनले भने ।

बगरिया यसलाई ‘इकमर्स’ले मात्रै नयाँ आयाम थप्नेमा पूर्ण सहमत छैनन् । उनी अब ‘डिसरुप्टिभ इकमर्स’ मा जानुपर्ने तर्क गर्छन् । जसको अर्थ हो, सरल प्रक्रियाबाट सामान खरिद गर्न पाउने सुविधा ।

‘यतिबेला इकमर्सबाट मात्रै सेवा दिएन नपुग्ने भयो, उपभोक्ताले सहज तरिकाले किन्न रुचाउँछन्, यसका लागि लामो र झन्झिटिलो प्रक्रिया हुनु भएन,’ उनले भने, ‘त्यसैले हामीले इकमर्समा गयौं भन्दा पनि कसरी उपभोक्तालाई सहज ढंगले एउटै क्लिकमा सामान अर्डर गर्न सक्ने बनाउने, कसरी सामान छिटोभन्दा छिटो बनाउने भन्नेमा हामी केन्द्रित हुनुपर्छ र हामी त्यो बाटोमा पनि छौं ।’

उनका अनुसार कम्पनीले हाल काठमाडौं उपत्यकाको हकमा २४ घण्टामा डेलिभरी दिँदै आएको छ, तर अबको चुनौती २४ घण्टालाई कसरी ३० मिनेटमा सीमित गर्ने भन्ने हो । आजका दिनमा २४ घण्टामा उपलब्ध सामान भोलिका दिनमा त्यो समय लामो हुन सक्छ ।

‘उपभोक्ताले कुनै पनि झन्झट बिना, छिटोभन्दा छिटो सामान पाए हुन्थ्यो भन्ने सोच राख्छन्, त्यो हाम्रा लागि चुनौती हो,’ उनले भने ।

उपभोक्ताहरु निकै सचेत भइसकेका छन् । उनीहरु निमेषभरमै सामानको गुणस्तर त्यसको मूल्य कति हो भनेर स्मार्टफोनबाटै थाहा पाइहाल्छन् । त्यसैगरी व्यापारी पनि ग्राहक सचेत छन् भन्ने बुझ्नु जरुरी भएको उनको बुझाइ छ ।

इकमर्सको व्यवसाय व्यापक हुँदै गर्दा ५ वर्ष अगाडि जस्तो अवस्था थियो, त्यो अब नहुन सक्छ । अब हेलिकप्टर र ड्रोनबाट सामान डेलिभरी गर्नुपर्ने हुन सक्छ । त्यसका लागि कस्ट इफेक्टिभ पनि हुनु पर्यो । म ३० मिनेटमै सामान पुर्याउन सक्छु अब किन अर्को विकल्प सोच्ने भनेर हुँदैन ।

‘एकातिर सामान कुन माध्यमबाट कसरी छिटो पुर्याउने भन्नेसँगै कस्ट इफेक्टिभ हुनुपर्छ । त्यति मात्रै होइन ग्राहकको आवश्यकता बुझेर सामान सकिने बित्तिकै ‘रिमाइन्डर’ दिएर हुन्छ कि वा अन्य तरिकाले हुन्छ व्यवसायमा नयाँ सोच आउनु पर्यो, यो अहिलेको चुनौति पनि हो,’ उनले भने ।

अर्को कुरा नगद प्रवाहको पनि हो । अहिले डिलर र खुद्रा पसलमार्फत सामान बिक्री गर्दा पैसा आउन ढिला हुन्छ । तर इकमर्सको कन्सेप्टले ब्रेक गर्दैछ । क्रेडिटमा देखिएको यो समस्याका कारण पनि आजका दिनमा इकमर्समा व्यवसायीहरु आकर्षित भइरहेका छन् ।

निम्बस बजारमा के पाइन्छ ?

काठमाडौं उपत्यकाका लागि ‘असन’ सबैभन्दा पुरानो बजार हो । सयौं वर्षको इतिहास बोकेको परम्परागत असन बजारमा सबै सामानका लागि उपयुक्त थलो भए जस्तै निम्बस बजार पनि खाद्यान्नका हरेक सामान राख्ने डिजिटल असन बजारका रुपमा आफूलाई विकास गर्ने लक्ष्य लिएको छ ।

हाल निम्बस बजारमा विभिन्न प्रकारका खाने तेल, आटा, दाल, मसला, सुप, अचार, चिउरा, पापड, चामल, गेडागुडी, स्न्याक्स घरमै बसेर अर्डर गर्न सक्नुहुन्छ । निम्बर बजारमा फेस मास्क, सेनिटाइजर, साबुन, टुथब्रस, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुन पनि उपलब्ध छ भने कफी लभरका लागि हिमालयन जाभाको कफीसँगै कफी मेसिन पनि पाइन्छ । त्यति मात्रै होइन निम्बस बजारमा बाजेको सेकुवाको फ्रोज आइटम पनि अर्डर गर्न पाइन्छ भने ‘डग फुड’ पनि खरिद गर्न सकिन्छ ।


पुष्प दुलाल