तनहुँ जलविद्युत् आयोजनाले ६२ जग्गाधनीलाई मुआब्जा लिन गर्यो आह्वान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् आयोजनाले निर्माण गर्ने २२० केभी क्षमताको प्रसारणलाइन निर्माणका लागि कुल ६२ जग्गाधनीको १२ हजार ९५९ वर्गमिटर जग्गा प्राप्तिका लागि प्रक्रिया शुरु गरेको छ ।

प्राधिकरणले तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर १३ र १४ को जग्गा मुआब्जाका लागि प्रक्रिया शुरु गरेको हो । आयोजनाका अनुसार तनहुँको बन्दिपुर गाउँपालिका आबु खैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न जग्गाधनीको जग्गा प्राप्ति गर्न लागेको हो ।

आयोजना प्राधिकरण एवम् दातृ निकायहरु जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, एसियाली विकास बैंक र युरोपियन लगानी बैंकको संयुक्त लगानीमा निर्माण हुन लागेको हो । उक्त प्रसारणलाइन २२० केभी क्षमतामा निर्माण हुन लागेको छ ।

आयोजनास्थल तनहुँदेखि न्यू भरतपुर सवस्टेसनमा उक्त प्रसारणलाइज जोडिनेछ । प्रसारण लाइन निर्माणका लागि आयोजनाले ठेकेदार छनोटदेखि आवश्यक प्रक्रिया शुरु गरिसकेको छ ।

जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार सार्वजनिक सूचनामार्फत् जग्गाधनीलाई आग्रह गरेको हो ।


क्लिकमान्डु