नेपाल टेलिकमले झण्डै १३ अर्ब खर्चेर २२६ स्थानीय तहमा फोरजी विस्तार गर्ने



काठमाडौं । नेपाल टेलिकमले चालु आवमा २२६ स्थानीय निकायमा उच्चगतिको इन्टरनेट फोर जी सेवा विस्तार गर्ने भएको छ । त्यसका लागि १२ अर्ब ७८ करोड ६२ लाख बजेट बिनियोजन गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चालु आवको नीति तथा कार्यक्रम र बजेट वक्तव्यका साथै वार्षिक कार्यक्रमहरु कार्यान्वयनको एकीकृत कार्ययोजनामा एक वर्षभित्र पूरा गर्ने गरी बजेट बिनियोजन गरेको हो ।

स्थानीय निकायमा उच्चगतिको इन्टरनेट सेवा पुर्याइ आर्थिक तथा सामाजिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ उक्त योजना अगाडि सारेको हो ।

मन्त्रालयका अनुसार हाल देशका ७७ वटै जिल्लाका जिल्ला सदरमुकाम र प्रमुख सहरी क्षेत्रमा फोर जी सेवा विस्तार गरिसकेको छ ।

मन्त्रालयका अनुसार चालु आवको कात्तिक महिनासम्म थप ६० स्थानीय निकायमा फोर जी सेवा विस्तार हुनेछ भने फागुनसम्म थप ८० स्थानीय निकाय र आगामी असारसम्ममा थप ८६ स्थानीय निकायमा फोरजी सेवा विस्तार गर्ने योजना बनाएको छ । त्यसका लागि टेलिकमले वायरलेस सेवा निर्देशनालयले काम गर्नेछ ।

सञ्चार मन्त्रालयले बिहीबार सार्वजनिक गरेको कार्ययोजना अनुसार दूरसञ्चार सेवालाई स्थानीय तहसम्म पुर्याउने लक्ष्यका साथ दोस्रो चरणको फोर जी सेवा विस्तार गर्न लागिएको हो ।

यस्तै टेलिकमले पुरानो प्रणालीको सीडीएमलाई थप विस्तार गरी थ्रीजी र फोर जीमा स्तरोन्नती गर्ने समेत कार्ययोजनामा समावेश गरेको छ । त्यसका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको छ । सो सेवा विस्तार गरी ५० हजार ग्राहक थप गर्ने समेत कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै टेलिकमले १७ करोड १० लाख रुपैयाँ बजेट खर्च गरेर ३ लाख एफटीटीएच (फाइभर टु होम) नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु