सानिमा माइले दोलखामा ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना निर्माण गर्ने



तस्बिरः इन्टरनेट

काठमाडौं । नेपालको प्रतिष्ठित जलविद्युत् कम्पनी सानिमा माइ हाइड्रोपावर लिमिटेडले दोलखामा ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

विशेष गरी पूर्वी नेपालको इलाम र ताप्लेजुङमा विभिन्न जलविद्युत् आयोजना निर्माण गर्दै आएको सानिमाले बाग्मती प्रदेशको दोलखामा प्रस्तावित जुम खोला आयोजना निर्माणको प्रक्रिया शुरु गरेको हो ।

कम्पनीका अनुसार गौरिशंकर संरक्षण क्षेत्रभित्र पर्ने विगु गाउँपालिका–१ मा उक्त आयोजना निर्माण हुने भएको छ । आयोजना संरचनाहरुमा बाँध, इन्टेक, एप्रोच कल्भट, बालुवा थिग्राउने सेटलिङ बेसिन, एड्रेस टनेल र पहुँच मार्ग जुम खोलाको दाँयाबाँया निर्माण हुनेछ ।

आयोजना नदी प्रवाही प्रकृतिको छ । आयोजनामा डिजाइन डिस्चार्ज २५.४५ घनमिटर प्रतिसेकेन्ड रहेको छ । आयोजनाले गौरिशंकर संरक्षण क्षेत्रको १५.९७ हेक्टर जग्गा प्रयोग गर्ने छ । आयोजनाबाट वार्षिक ३२४.७५ गिगावाट घण्टा उर्जा उत्पादन हुनेछ ।

प्रबर्द्धक कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम गरिरहेको छ । सो कार्य छिट्टै सम्पन्न गर्ने र आयोजना निर्माणमा लैजाने तयारी गरेको छ । कम्पनीले इलाममा सानिमा माइ अपर सानिमा माइलगायतका आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । यस्तै ताप्लेजुङमा एक आयोजना निर्माणको क्रममा छ ।

गैरआवासीय नेपालीको समेत लगानी रहेको सो कम्पनीले अन्य आयोजना समेत निर्माण गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु