शेखर गोल्छाले गुटको राजनीति गरेको भन्दै भाष्कर राजकर्णिकारले भने- हामीलाई निको लागेन



काठमाडौं । व्यवसायी भास्करराज राजकर्णिकारले नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउनुपर्ने माग गरेका छन् ।

मंगलबार चन्द्र ढकालको महासंघका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै राजकर्णिकारले ढकालको टिमलाई जितको शुभकामना दिँदै विधान संशोधन गरेर फेरि प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गर्न माग गरे ।
ढकालको टिमले चुनाव जित्नेमा आफू विश्वस्त रहेको राजकर्णिकारले बताए ।

‘वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने उद्देश्यका पछाडि निर्वाचन भड्किलो नहोस् भन्ने थियो तर अहिले अध्यक्ष बन्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष नै एउटा पक्षमा लाग्दा हामीलाई निको लागेको छैन । हामीले हाम्रो विधानलाई त्यसअर्थमा परिमार्जन गरेका थिएनौं,’ उनले भने ।

उनले उद्योग वाणिज्य महासंघको नेतृत्वलाई सफा, निष्पक्ष र सन्तुलिन राख्छौं भन्ने चाहना भए पनि त्यो पूरा हुन नभएको बताए ।

‘त्यसैले अब यस निर्वाचनमा जित हासिल गरी जाने साथीहरुले उद्योग वाणिज्य महासंघ अध्यक्षात्मक प्रणालीबाट चल्ने संस्था भएकाले फेरि विधान संशोधन गरी प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

आज विश्व नै आर्थिक रुपमा विषम अवस्थामा पुगेको छ । अहिले साना पसल थापेर बस्ने साथीहरुले पीडा पनि महासंघमा हुने साथीहरुले बोध गर्नुपर्ने उनको भनाइ छ ।

‘१५ लाखको लगानी, १ लाखको सञ्चालन खर्च र ४ महिना बन्द हुँदा उसको सञ्चालन खर्च गइसकेको छ । अब बैंकको ब्याज, सरकारको कर, सञ्चालन खर्च, पारिश्रमिक दिने हैसियत उसको छ कि छैन भनेर हेर्नुपर्छ । त्यसैले साना तथा मझौला व्यापारीहरुको अनुहार सम्झेर निर्वाचनमा लड्नुपर्छ । जसले ५० लाखदेखि ५ करोडसम्मको लगानी गरेकाहरुको हैसियत माग्न नसक्ने, भन्न नसक्ने आफ्नो अभाव र तनाव लुकाउन नसक्ने अवस्थामा पुगेको छ,’ उनले भने ।

ठूलो व्यवसायीको कुरामा कम्तीमा २ वर्षका लागि ब्याज पुँजीकरण गरिदिनुहोस भन्न पनि नसक्नु, अहिलेको धितोमा ७० प्रतिशत मात्रै ऋणमा अर्को १० देखि २० प्रतिशतसम्म पुनरकर्जा दिनुहोस समेत भन्न नसकेको भन्दै गुनासो समेत गरे ।

नयाँ नेतृत्वमा जाने साथीहरुको बोली, शब्द साना, मझौलालगायत सबै व्यवसायीहरुको हितमा गर्नुपर्छ । जिल्ला नगरका साथीहरुका कुरा सुन्दा निकै पीडा छ । उहाँहरुको पीडालाई सम्बोधन गर्न नयाँ नेतृत्वले सक्नुपर्ने उनको भनाइ थियो ।
चन्द्र ढकालजीको जुन उद्यमशिलतामा दख्खल छ, जसरी आईएमईमा दख्खल देखाउनु भएको छ । त्यो दख्खल अब नेपाल उद्योग वाणिज्य संघमा देखाउनु होस् भन्दै शुभकामना दिए ।

‘गुणनिधिजीले जिल्ला जिल्लामा गएर सबै साथीहरुको पीडा बुझ्नु भएको छ । भावना बुझ्नु भएको छ । वस्तुगतको क्षेत्रमा उमेशजीले निकै ठूलो भूमिका खेल्नु भएको छ । रामचन्द्रजी निजी रुपमा फैलाएको सञ्जालले साना मझौला व्यवसायीको भावना बुझ्नुपर्छ । होइन भने उम्मेदवारीको अर्थ रहँदैन,’ उनले भने ।


पुष्प दुलाल