बिग मर्जरमा गभर्नरको चासोः राष्ट्र बैंकले फेरि थाल्यो ‘क्रश होल्डिङ’को अध्ययन, के आउला मौद्रिक नीतिमा ?



काठमाडौं । २०७६ साल साउन ८ गते तत्कालीन गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै क्रश होल्डिङ भएका संस्थालाई मर्जरमा लगिने नीतिगत व्यवस्था गरेका थिए ।

गभर्नर डा. नेपालले मौद्रिक नीतिमा भनेका थिए ‘एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा निश्चित प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएका बैंक तथा वित्तीय संस्थालाई गाभ्नेरगाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने छ ।’

क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लगिने

मौद्रिक नीतिमा भएको उक्त व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले ०७६ साउन १५ गते ७ दिनभित्र बैंकहरुलाई ०.१० प्रतिशतभन्दा बढी क्रश होल्डिङ गरेका सेयरधनीहरुको विवरण पठाउन पत्राचार गरेको थियो ।

राष्ट्र बैंकले लिखितरुपमै विवरण दिन निर्देशन दिएपछि सबै बैंक तथा वित्तीय संस्थाहरुले आ-आफ्नो संस्थामा भएको क्रश होल्डिङको जानकरी राष्ट्र बैंकलाई गराएका थिए ।

बैंकहरुको क्रश होल्डिङको विवरण लिएर राष्ट्र बैंकले अध्ययन गर्यो । र, फोर्स मर्जर गराउने खालको क्रश होल्डिङ नदेखिएको निष्कर्श निकाल्यो ।

राष्ट्र बैंकले माग्यो बैंकसँग क्रस होल्डिङको विवरण

‘व्यक्तिगत क्रश होल्डिङ हेर्दा फार्स मर्जर गराउन सक्ने अवस्था देखिएन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘किनभने विभिन्न व्यक्तिले विभिन्न बैंकमा लगानी गरेका छन्, धेरै व्यक्तिको धेरै संस्थामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरीको क्रश होल्डिङ पनि देखिएन ।’

फोर्स मर्जर गराउने खालको व्यक्तिगत ‘क्रश होल्डिङ’ देखिएन, राष्ट्र बैंकले माग्यो थप विवरण

त्यसपछि राष्ट्र बैंक चुपचाप बस्यो । गभर्नर डा. नेपालको कार्यकाल सकिने दिन नजिकिएपछि बिग मर्जरको विषयमा राष्ट्र बैंकले बिग डिसिजन गरेन ।

२०७६ चैत पहिलो साता गभर्नर डा. नेपालले अवकास पाए । चैत अन्तिम साता सरकारले महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्ति गर्यो ।

बिग मर्जरको विषयमा कसरी अघि बढ्ने भन्नेमा बैंकका लगानीकर्ताहरु पनि अन्यौलमा थिए । र, राष्ट्र बैंकका कर्मचारीहरु पनि ।

उनीहरु सबैको भनाइ एउटै थियो- यसबारे नयाँ गभर्नरले कस्तो नीति लिन्छन्, हामी पर्ख र हेरको अवस्थामा छौं ।

कतिपय संस्थाहरुमा आफूभन्दा अघिल्लो नेतृत्वले गरेका काम र नीतिलाई निरन्तरता नदिने प्रवृत्ति पनि छ । त्यसैले बैंकिङ क्षेत्र र राष्ट्र बैंककै कर्मचारीहरु पनि नयाँ गभर्नरको मुख ताकेर बसे ।

राष्ट्र बैंकमै ३० वर्ष विताएर डेपुटी गभर्नर भई अवकास पाएका महाप्रसाद अधिकारी गभर्नर बनेर आए ।

राष्ट्र बैंक, बैंकिङ क्षेत्र र अर्थतन्त्रको जरा जरा बुझेका गभर्नर अधिकारीले अघिल्ला गभर्नर डा. नेपालले लिएको बिग मर्जरको नीतिलाई उही रफ्तारमा अघि बढाउने निधो गरे । जसअनुसार बैंकर र बैंकका लगानीकर्ताहरुलाई व्यक्तिग भेटमा पनि बिग मर्जरमा जान सुझाउँदै आएका छन् ।

गभर्नर अधिकारीले बैंकहरुको संख्या धेरै भएको र यो संख्यालाई घटाउनुपर्ने भएकाले मर्जरमा गएर सहयोग गरिदिन आग्रह पनि गर्दै आएका छन् । त्यसका लागि राष्ट्र बैंकले के कस्तो वातावरण तयार गरिदिनुपर्ने हो त्यो तयार गरिदिने आश्वासन पनि दिएका छन् ।

राष्ट्र बैंकले एनआइसी एशिया र एनएमबि बैंकको फोर्स मर्ज गराउँदै छ ? यस्तो छ क्रस होल्डिङ

बिग मर्जरमा गभर्नरले देखाएको सक्रिय चासोलाई बैंकिङ बजारले गंभीररुपमा लिएको छ । यद्यपि फोर्स मर्जर आउँछ भन्नेमा बजारले आशंका भने गरिहालेको छैन ।

राष्ट्र बैंकले फेरि थाल्यो क्रश होल्डिङको अध्ययन

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको क्रश होल्डिङ बारे फेरि अध्ययन शुरु गरेको छ । क्रस होल्डिङको आधारमा आगामी मौद्रिक नीतिमार्फत् मर्जरको नीति अवलम्वन गर्ने तयारीस्वरुप राष्ट्र बैंकले अध्ययन शुरु गरेको हो ।
राष्ट्र बैंकले साउनको पहिलो साता नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ ।

बिग मर्जरमा राष्ट्र बैंकको एक्सनः भदौ २५ भित्र मर्जरको प्रगति बिबरण बुझाउन बैंकहरुलाई निर्देशन

‘एक साताभित्र बैंकहरुको क्रश होल्डिङमा अध्ययन सकेर रिपोर्ट बुझाउनुपर्ने निर्देशन छ,’ क्रश होल्डिङको अध्ययनम संलग्न राष्ट्र बैंकका एक अधिकारीले भने, ‘केही बैंकहरुको रिपोर्ट आइसकेको छ, २/३ दिनभित्रै रिपोर्ट तयार हुन्छ ।’
क्रश होल्डिङको अध्ययन गर्न ५/६ जना अधिकृतहरु खटाइएको ती अधिकारीले जानकारी दिए ।

‘गभर्नरसाबबाटै बैंक तथा वित्तीय संस्थाहरुको क्रस होल्डिङको रिपोर्ट माग भएकाले तीव्र गतिमा अध्ययन गरिरहेका छौं,’ उनले सुनाए ‘मौद्रिक नीतिको अन्तिम तयारी गरिरहँदा उच्च नेतृत्वबाटै क्रश होल्डिङको विवरण माग्नुले मौद्रिक नीतिले केही न केही व्यवस्था गर्दै भन्ने संकेत गर्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत एकभन्दा बढी कम्पनीहरुमा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएमा त्यसलाई क्रस होल्डिङ मानिने धितोपत्र बोर्डका अध्यष भिष्मराज ढुंगानाले जानकारी दिए ।

संस्थागतमा सबैभन्दा ठूलो क्रश होल्डिङ सञ्चय कोषको

संस्थागतरुपमा सबैभन्दा ठूलो क्रश होल्डिङरुपमा कर्मचारी संचय कोषले बैंकहरुमा लगानी गरेको छ । संचय कोष सरकारी संस्था हो ।

कर्मचारी संचय कोषको लगानी रहेका वाणिज्य बैंकहरुमा एनएमबि, नेपाल एसबिआई, हिमालयन बैंक, बिओके रहेका छन् । पछिल्लो समय संचय कोषले सिभिल बैंकको समेत संस्थापक सेयर खरिर गरेर ठूलो सेयरधनी बनेको छ ।
यी बैंकमा सञ्चय कोषको अर्बौं रुपैयाँ बराबरको लगानी छ ।

सञ्चय कोषको लगानीलाई क्रश होल्डिङ मानेर राष्ट्र बैंकले मर्जरमा जान निर्देशन दियो भने आधा दर्जन वाणिज्य बैंकलाई मर्जरको तीब्र दबाब पर्नेछ ।


पुष्प दुलाल