राष्ट्र बैंकले एनआइसी एशिया र एनएमबि बैंकको फोर्स मर्ज गराउँदै छ ? यस्तो छ क्रस होल्डिङ



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सबै बैंकहरुलाई ०.१ प्रतिशतभन्दा बढी सेयर भएका व्यक्तिहरुको विवरण १ साताभित्र पेश गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ०.१ प्रतिशतभन्दा बढी सेयर रहेका सेयरधनीको विवरण मागिएको जानकारी दिए ।

राष्ट्र बैंकले विगतमा पनि क्रस होल्डिङ भएका संस्थालाई मर्जरमा लगेको छ । जसको उदाहरण एनआईसी र बैंक अफ एशिया, ग्लोबल बैंक र आइएमई फाइनान्स तथा राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट गाभिएको घटनालाई लिन सकिन्छ ।

राष्ट्र बैंकले यो पटक संख्या घटाउनको लागि निश्चित प्रतिशतभन्दा बढी रकम क्रस होल्डिङ भएका बैंकहरुलाई फोर्स मर्जरमा लैजाने बताएको छ ।

राष्ट्र बैंकले क्रश होल्डिङ भएका संस्थालाई मर्जर गराउन खोजेको हो भने एनआइसी एशिया र एनएमबि बैंक निशानामा पर्ने निश्चित छ । तर, यी दुई बैंकको मर्जर त्यति सहज भने छैन ।

राष्ट्र बैंकको नीति अहिले संख्या घटाउने हो । त्यसको वहिलो विकल्प मर्जर हो । यसका लागि एउटै व्यक्ति तथा समुहले विभिन्न बैंकमा गरेको लगानीको अध्ययन गर्नु र एउटा सीमाभन्दा बढी भए मर्जरमा जान दवाव दिनु हो ।

‘क्रश होल्डिङ भएका संस्थालाई फोर्स मर्जर गराउँछौं,’ राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

तर, कति सीमाभन्दा बढी लगानी भएका संस्थालाई मर्जरमा लाने भनेर राष्ट्र बैंकले यकिन गरिसकेको छैन । धेरै बैंक तथा वित्तीय संस्थाहरुमा क्रश होल्डिङ छ ।

राष्ट्र बैंकले एउटै व्यक्तिको क्रस होल्डिङ भएको संस्थालाई मर्जरमा जान दवाव दिएमा कतिपयले एनआईसी र एनएमबि बैंक मर्जरमा जाने चर्चा गर्छन् ।

दुवै बैंकमा व्यवसायिक घराना  विशाल ग्रुप र गोल्यान ग्रुपको लगानी छ ।

दुवै व्यवसायिक घरानाको आधिकारिक वेवसाइटमा एनआईसी र एनएमबि बैंकमा लगानी रहेको उल्लेख गरेका छन् । एनआईसी एशिया बैंकमा विशाल ग्रुपका उपाध्यक्ष तुलसी अग्रवाल एनआईसी एशिया बैंकमा अध्यक्ष छन् ।

बिशाल ग्रुपका अध्यक्ष जगदिश अग्रवाल तथा उपाध्यक्ष त्रिलोक अग्रवाल बैंकको संचालक समितिमा छन् । बैंकमा विशाल ग्रुपको बहुमत सेयर छ ।

एनएमबि बैंकमा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान अध्यक्ष छन् । एनएमबि बैंकमा विदेशी लगानीकर्ताको सेयर छ । सेयर अनुपातको हिसाबले सबैभन्दा ठूलो सेयरधनी नेदरल्याण्डको एफएमओ कम्पनी हो । जसको बैंकमा १७ प्रतिशत छ ।

यस्तै दोस्रो सेयरधनी कर्मचारी संचय कोष हो । जसको सेयर ६.८६ प्रतिशत छ । यस्तै तेस्रो ठूलो सेयरधनी पनि एनएमबिमा विदेशी लगानीकर्ता नै हो । मलेसियाको योङ लियन कम्पनीको नाममा ५.२३ प्रतिशत सेयर छ ।

अध्यक्ष पवन गोल्यानको एनएमबिमा १.१५ प्रतिशत सेयर रहेको छ । बिशाल ग्रुपका प्रवन्ध निर्देशक अशोककुमार अग्रवालको नाममा एनएमबि बैंकमा ०.५ प्रतिशत सेयर छ ।

एनआईसीले प्रकाशित गरेको विवरण अनुसार गोल्यान ग्रुपका बासुदेव गोल्यानको नाममा २.२२ प्रतिशत सेयर रहेको छ ।

राष्ट्र बैंकले क्रश होल्डिङ भएका संस्थालाई मर्जर गराउन खोजेको हो भने एनआइसी एशिया र एनएमबि बैंक पहिलो निशानामा पर्ने निश्चित छ ।

तर, यी दुई बैंकको मर्जर त्यति सहज भने छैन । किनभने पहिलो कुरा एनएमबि बैंकमा विदेशी लगानीकर्ताको ठूलो लगानी छ ।

दोस्रो कुरा यी दुई बैंक गाभिए भने बैंकिङ बजारको १० प्रतिशतभन्दा बढी हिस्सा होल्ड गर्छन् । एउटा संस्थाले १० प्रतिशतभन्दा बढी बजार हिस्सा हुनुलाई राम्रो मानिँदैन ।  टू बिग टू फेल र मोनोपोली दुबैको खतरा रहन्छ ।

यी दुई बैंक गाभिए भने ३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप हुन्छ । जुन बैंकहरुको कूल निक्षेपको १२ प्रतिशत हो ।


पुष्प दुलाल